देश

पर्वमा पोषणयुक्त खानेकुरा पाएपछि गरीब पनि खुशी

इनरुवा । सुनसरी जिल्लको भोक्राहा नरसिंह गाउँपालिका–५ की बिबीसैनी खातुनलाई कसरी आफ्को महान पर्व रमदान मनाउने भने चिन्ताले सताएको थियो । तर एक मुस्लिम गैरसरकारी संस्थाले उनलाई पोषणको खाद्यान्न प्याकेज दिएपछि त्यो चिन्ताबाट उनी मुक्त भएका छन् ।

बिबीसैनीजस्तै सुनसरी सदरमुकाम इनरुवा–९ बबियाका मसिना खातुनको अवस्था पनि उस्तै छ । पर्व मनाउनका लागि गरीबलाई सोच्नुपर्ने हुन्छ, तर पोषण राहत प्याकेज पाएपछि केही राहत महसुस भएको मसिना खातुनको भनाइ छ ।

मसिना र बिबीसैनी त सुनसरीका लागि उदाहरण मात्र हुन् । उनीहरु जस्तै कैयौँ व्यक्ति पर्वका बेला आर्थिक अवस्था कमजोर भएकै कारण खुशी र हर्षोल्लाससाथ पर्व मनाउन सकिरहेका हुँदैनन् ।

कारण हो, कमजोर आर्थिक अवस्था । तर त्यही आर्थिक अवस्था कमजोर भएका २९५ परिवारलाई पर्व मनाउनका लागि सहज होस् भन्ने उद्देश्यले सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेको हिदायत एजुकेशनल एण्ड वेल्फेयर ट्रष्टले पोषणयुक्त खाने कुरा दिएपछि आफूहरुलाइ आफ्नो जातीय पर्व मनाउन सहज भएको कोशी गाउँपालिका–४, सुनसरीकी असरातुन खातुनको भनाइ छ ।

कतार च्यारिटीको सहयोग र हिदायत एजुकेशनल एण्ड वेल्फेयर ट्रष्टको आयोजनामा गरीब, विपन्न, अपांग, एकल महिला, वृद्धवृद्धालगायतलाई पर्व मनाउनका लागि विभिन्न पोषणयुक्त खाने कुरा वितरण गरेको आयोजक संस्थाका उपाध्यक्ष मौलाना फारुक खानले बताए।

मुस्लिम धर्मावलम्बीको ठूलो पर्व रमदान आउन दुई दिन बाँकी रहेका बेला प्रतिपरिवार चामल २५ केजी, खानेतेल पाँच लिटर, चना तीन केजी, गहुँको पिठो पाँच केजी, चिनी तीन केजी, नून एक केजी आफूहरुले पाएपछि पर्व कसरी मनाउने भने चिन्ताबाट मुक्त भएको मौलाना तसलिमको भनाइ छ ।

यसरी समस्यामा रहेका स्थानीयलाई पोषणयुक्त खानेकुराले चाडपर्वका बेला दुःखका बेला खुशीको उमंग ल्याउनेमा कुनै दुई मत देखिँदैन । पर्व मनाउने कि नमनाउने भन्ने चिन्ताले सताइरहेका बेला यस्ता खानेकुराले केही भएपनि राहत प्रदान गर्ने गरेको देखिन्छ । त्यसैले सामाजिक संस्थाले पनि चाडपर्व र दुःख परेको बेला स्थानीयको मर्कामा समयमै ध्यान दिनु जरुरी हुन्छ ।