समाचार

स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग

नवलपरासी । पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । स्वयं आफूहरुको शान्ति सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने माग राख्दै स्थानीय तहका प्रमुखले यस्तो माग गरेका हुन् ।

केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पर्याप्त शान्ति सुरक्षाको अभावमा स्थानीय तहमा प्रभावकारी कार्य सम्पादन हुन नसक्ने भएकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए।

विगत केही समययता जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं अध्यक्षलाई आपराधिक मानसिकता बोकेका अराजक तत्वले टेलिफोनमार्फत धम्काउने, भय, डर र त्राश देखाउने तथा ज्यान मार्नेसम्मका धम्की आउने गरेकाले स्थानीय तहका प्रमुखले सरकारसमक्ष यस्तो माग गरेका पाल्हिनन्दन गाउँपालिकाका प्रमुख दीपक गुप्ताले बताए ।

समग्र जिल्लाको शान्ति सुरक्षाको स्थितिमा प्रश्नचिह्न खडा भएको भन्दै स्थानीय तहका प्रमुखले जिल्ला प्रशासनसहित सरकारलाई पर्याप्त मात्रामा शान्ति सुरक्षा कायम गर्न माग गरिएको सरावल गाउँपालिकाका प्रमुख राधेश्याम चौधरीले बताए ।

शान्ति सुरक्षा जस्तो संवेदनशील विषयमा गम्भीर भई आपराधिक तथा अराजक तत्वप्रति कडा कारबाही गर्न स्थानीय तहका प्रमुखले संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारीसमक्ष अपिलसमेत गरेका छन् ।

पश्चिम नवलपरासीका सातवटै स्थानीय तहका प्रमुखले सरकारसँग प्रभावकारी शान्ति सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन् ।