उर्जा

खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान

कञ्चनपुर । जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो । भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपानी आयोजनमा सौर्य ऊर्जा जडान भइरहेको सूर्योदय ऊर्जा प्रालिका प्राविधिक नरेन्द्रराज जोशीले बताए ।

“झलारी र आदर्श खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको काम पूरा भएको छ”, उनले भन, “बेलौरी र त्रिभुवनबस्तीमा एक साताको अवधिमै सौर्य ऊर्जा जडान हुन्छ ।”

प्रत्येक खानेपानी आयोजनमा सौर्य ऊर्जाका ४५ वटा पाता जडान गरिएका छन् । एउटा पाताबाट ३१५ वाट सौर्य ऊर्जा प्राप्त हुन्छ । एउटा आयोजनाका लागि जडान गरिएका पाताबाट करीब १४ किलोवाट सौर्य ऊर्जा प्राप्त हुन्छ ।

विद्युत्को आपूर्ति नहुँदा खानेपानीबाट समेत वञ्चित हुनुपरेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कमलापति भट्टले बताए। सौर्य ऊर्जा जडानपछि अब उपभोक्ताले बिना झन्झट चौबिसै घण्टा सहज रुपमा खानेपानी पाउने भएका छन् । आयोजनाले बुझाउँदै आएको विद्युत् महशुलसमेत न्यून हुने भएको छ । तराई क्षेत्रमा सौर्य ऊर्जा भरपर्दो रहे पनि बादल लागेका बेला मात्रै आकस्मिक रुपमा विद्युत्को प्रयोग गर्नुपर्ने र अन्य बेला सौर्य ऊर्जाले कार्य गर्ने बताइएको  ।