शिक्षा

विद्यालयमा दरबन्दी माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गाउँमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका ३१ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा दरबन्दी शून्य रहेको भन्दै विद्यालय सञ्चालकहरूले दरबन्दीको माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएका शिक्षक फनिलाल सदाले बताए ।

गाउँपालिकाका विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकको जिल्लामा दरबन्दी मिलानका क्रममा एक÷एक दरबन्दी दिने निर्णय तत्कालीन जिल्ला शिक्षा कार्यालयले गरे पनि आफूहरुका विद्यालयमा दरबन्दी शून्य रहेकाले दरबन्दी उपलब्ध गराउनुपर्ने सहित १० सुत्रीय माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाएको शिक्षक अरुणकुमार मण्डलले जानकारी दिए ।

ध्यानाकर्षणपत्रमा शिक्षक दरबन्दीको अभावमा अध्यापनमा अवरोध भइरहेकाले यथाशीघ्र विद्यार्थीको आधारमा आवश्यक शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्ने, प्रधानअध्यापक तथा शिक्षकको छुट्टै नियुक्ति गर्नपर्नेजस्ता माग अघि सारेको शिक्षक जितन साहले बताए।

छात्रवृत्ति नपाएको गुनासो

जिल्लाका सामुदायिक विद्यालयका बालबालिकाले समयमै छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । जिल्लाका सामुदायिक विद्यालयलाई लगातार रुपमा तीन वर्षयता जेठ १४ गते एकै साथ छात्रवृत्तिको रकम वितरण गर्ने गरिए पनि यसपाली यहाँका बालबालिकालाई छात्रवृत्ति समयमै नदिएको खुलासा भएको हो ।

पाठ्यपुस्तक र छात्रवृत्तिको रकम एकैसाथ चैतमा वा फागुनको अन्तिम हप्तामा विद्यालयको खातामा पठाउनुपर्नेमा नपठाउँदा सम्बद्ध विद्यालयका शिक्षकले सास्ती खेप्नुपरेको र पाठ्यपुस्तक पाए पनि छात्रवृत्तिको रकम विद्यालयले पाउन नसकेको अनुगमनका क्रममा भेटिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका उपसचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए।

उनका अनु्सार दुहवी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका सहित केही गाउँपालिका तथा नगरपालिकाका बालबालिकाले समयमै
छात्रवृत्तिको रकम पाउन नसकेको भेटिएको हो ।

सरकारले बालबालिकालाई विद्यालयमा टिकाउने, सिकाउने र राम्रो शिक्षादिक्षा दिएर बजारमा विकाउने लक्ष्य लिएर आर्थिक वर्ष २०७४/७५ को शुरु मै बजेट जिल्ला तथा स्थानीय तहमा पठाए पनि स्थानीय सरकारले छात्रवृत्तिको रकम समयमा वितरण नगर्दा बालबालिका निराश भएका सम्बद्ध विद्यालयका प्रधानाध्यापकले बताएका छन् ।

प्रधानाध्यापकले जिल्लाको अधिकार र सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि समयमै काम नभएकाले आफूहरुलाई त्यो भन्दा धेरै तनाव भएको आधारभूत विद्यालयका प्रधानाध्यापक मनोजकुमार मेहताले जानकारी दिए ।

दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाको लापर्बाहीका कारण सो क्षेत्रका ३० विद्यालयका बालबालिकाले दलित छात्रवृत्ति, , अपांगता भएको छात्रवृत्ति र जेहेन्दार छात्रवृत्ति नपाएको बालबालिकाको गुनासो थियो ।

भोक्राहा गाउँपालिकामा रकम निकासा नदिएको विषयमा एक हप्ताअघि मात्रै प्रधानाध्यापकले गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई जानकारी गराए पछि अध्यक्ष यादवले तत्काल रकम निकासा दिन लगाउने प्रतिक्रिया दिए भने दुहबीका नगरप्रमुख बेदनारायण गच्छदारले यस विषयमा जिज्ञासा राख्दा फोन समेत उठाउनु भएन । उक्त नगरपालिकाका प्रशासकीय अधिकृत आन्यत्र सरुवा भएकाले लेखा शाखाले भने प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आदेश नआएकोले निकासा पठाउन नसकिएको जनाएको थियो ।