राजनीति

विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए ।

उनले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिए ।
सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गरे ।

सांसद दुर्गा पौडेलले रोजगारीका सिलसिलामा विदेशिएका मजदूरका समस्याका बारेमा ध्यानाकर्षण गराए ।सांसदद्वय एकलाल मियाँ र रुही नाजले मुसलानकोे प्रसिद्ध पर्व इदको दिन राष्ट्रिय रुपमा सार्वजनिक बिदा दिन माग गरे ।

सांसद प्रेम सुवालले मोही किसानका समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि माग गरे ।

सांसद यशोदा गुरुङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् परियोजनाका लागि फरक फरक प्रसारण लाइन निर्माण गर्दा धेरै जमीन खेर जाने भएकाले एउटै प्रसारण लाइन हुनुपर्ने माग गरे ।

सांसद गणेश पहाडीले सिन्धुलीका भूकम्पपीडित र मध्यपहाडी राजमार्ग विस्तारमा जग्गा परेका किसानका माग सम्बोधन गर्न आग्रह गर्दै बिपी राजमार्गमा सेल्फी र सुटिङस्थलका रुपमा होइन यातायात व्यवस्था सहज तुल्याउने तर्फ ध्यान जाओस् भने ।

सांसद लक्ष्मीकुमारी चौधरीले धनगढी–अत्तरिया निर्माणाधीन ६ लेनको सडक निर्माणको ढिलाइले वर्षायाममा जनतालाई हिँडडुल गर्न कठिनाई भएकाले समयमै बन्नुपर्ने बताए । बैठकमा सांसद आशाकुमारी विक, घनश्याम खतिवडा, राजेन्द्रप्रसाद गौतम, तेजुलाल चौधरी, रेखाकुमारी झा, भूमिप्रसाद त्रिपाठी, नवराज रावत, लीलानाथ श्रेष्ठ र वीना बुढाथोकीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।