देश

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली, तनहुँ । पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर प्रजा गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा चितवन माडी– ९ बस्ने ट्रक चालक ३४ वर्षीय उपेन्द्र कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गम्भीर घाइते सोही ठाउँका ट्रकका सहचालक प्रजाको उक्त अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवनतर्फ लगिएको प्रहरीले जनाएको छ ।

सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना ३ ख २७८६ नं को ट्रक आफैँ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको थियो । कुँवरको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।