समाचार

कामचोर ठेकेदारको विवरण संकलन गरिरहदाँ मेलम्ची ठेकेदारलाइ यस्तो किन ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारवाही गर्न देशभर बाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ ।

आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होईन उसको दावीअनुसार क्षतिपुर्ति दिने तयारी पनि गरेको छ ।

भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।

सोही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उच्च स्रोतको दाबी छ । यो खबर आजको नागरिक दैनिकमा छ ।