कृषि

आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न तरकारी फलाउँदै विद्यार्थी

बागलुङ । आर्जेको ज्ञान र सीपलाई व्यवहारमा उतार्न यहाँको एक विद्यालयका विद्यार्थी तरकारी खेतीमा लागेका छन् । किताबी पढाइमा सीमित बनेका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । बागलुङ नगरपालिका–१० स्थित विश्वकर्मा माविले ‘लघु कृषि अभ्यास केन्द्र’ मार्फत विद्यार्थीलाई कृषिमा उत्प्रेरित गरेको हो ।

पाठ्यक्रमको आधारमा व्यावहारिक शिक्षा दिइएको विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद खनालले बताए । “प्रयोगात्मक अभ्यासबाट विद्यार्थीमा सीप विकास गर्नु हाम्रो उद्देश्य हो,” उनले भने, “यसबाट व्यावहारिक सिकाइ हासिल हुन्छ ।” विद्यालयले सानो उमेरबाहेकका सबै विद्यार्थीलाई तरकारी खेतीमा लगाउने गरेको छ ।

कृषि खेतीको सीप सिक्न पाउँदा विद्यार्थी पनि खुशी छन् । विद्यालयमा आर्जन गरेको ज्ञान, सीपलाई उनीहरुले घरमा प्रयाग गर्न थालेका छन् ।

विद्यालयले एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेको प्रधानध्यापक खनालले बताए । दुईवटा टनेलमा गोलभेँडा, खुर्सानी, तिते करेलालगायतका तरकारी बाली लगाइएको छ । तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैँले गर्दछन् ।

आवश्यक पर्दा शिक्षकले सहयोग गर्ने गरेको कक्षा १० मा अध्ययनरत छात्रा रोशिका गौतमले बताए । “किताबमा पढेको कृषिको ज्ञानलाई व्यवहारमा उतार्न पाएका छौँ,” उनले भने, “खुशी छौँ, सिकाइ प्रभावकारी बनेको छ ।” पूर्व तयारीदेखि खेती लगाउने, रेखदेख गर्ने, रोग र औषधोपचारबारे पनि विद्यार्थी जानकार भइसकेका छन् । विद्यार्थी फुर्सदमा पालैपालो तरकारी बारीमा पुग्ने र काम गर्ने गर्छन् । तरकारी बालीलाई चाहिने मल, थाँक्रा, पानी विद्यार्थी आफैँले जोहो गर्ने गरेका छन् ।

किताबमा पढाइ हुने कृषि शिक्षालाई प्रयोगात्मकरुपमै सिकाउन पाउँदा शिक्षक पनि खुशी छन् । विद्यार्थीको सिकाइमा गुणात्मक परिवर्तन आएको शिक्षक एवं लघु कृषि अभ्यास केन्द्रका संयोजक मधुसुदन रेग्मीले बताए । “भविष्यमा व्यावसायिक कृषिमा लाग्न विद्यार्थीलाई प्रेरित गरेको छ,” उनले भने, “शिक्षण सिकाइ फलदायी बनेको छ ।” तरकारी खेतीले विद्यार्थीलाई श्रमको महत्व र मूल्य चिनाउन पनि सघाउ पु¥याएको छ ।

विद्यालयले कृषि खेतीलाई थप विस्तार गर्ने योजना बनाएको छ । अभिभावक र समुदायलाई कृषि शिक्षाको महत्व जगाउने उद्देश्य रहेको विद्यालयले जनाएको छ । ‘पेशा व्यवसाय’ सम्बन्धी सैद्धान्तिक पाठ्यक्रममा आधारित रही व्यावहारिक शिक्षा दिन तरकारी खेती गरिएको प्रअ खनालले बताए । थोपा सिँचाइको प्रयोग गरेर गरिएको तरकारी खेती पूर्णरुपमा जैविक (अर्गानिक) रहेको उनको भनाइ छ ।