आर्थिक

निकुञ्जमा पर्यटक बृद्धीसँगै राजश्व पनि वृद्धि

चितवन । देशमा राजनीतिक स्थिरता र स्थायी सरकार बनेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

पर्यटक बढेसँगै राजश्व पनि बढेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालू आर्थिक वर्षको १० महिनामा एक लाख ३३ हजार १७१ पर्यटकले निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुमेका छन् । जसमध्ये तेस्रो मुलुकका पर्यटकको संख्या ८८ हजार ९३९, सार्क देशका १३ हजार ४०८ र नेपाली ३० हजार ८२४ रहेका छन् ।

यस अवधिमा रु २१ करोड ५० लाख ७१४ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षभरिमा एक लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज घुमेका थिए । जसमध्ये विदेशी ८८ हजार १९, सार्क मुलुकका १५ हजार ९०६ र नेपाली ३६ हजार ५३ रहेका थिए । गत आवमा रु २२ करोड ५१ लाख ६३ हजार ४०९ राजश्व संकलन भएको अर्यालले बताए ।

आव २०७२/७३ मा वर्षभरिमा ८७ हजार ३९१ पर्यटकले मात्रै निकुञ्ज प्रवेश गरेका थिए । त्यस वर्ष विदेशी ५० हजार १९१, सार्क मुलुकका छ हजार ६०६ र नेपाली ३० हजार ५९२ रहेका थिए ।

पर्यटकमा कमी आएसँगै त्यस वर्ष रु १३ करोड १२ लाख २० हजार २५५ राजश्व संकलन भएको थियो । भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो । क्रमशः पर्यटकको संख्या बढ्दै गएको छ । जेठ र असार महिनामा आशातित पर्यटक भित्रिएमा विगत तीन वर्षको तुलनामा यसवर्ष सबैभन्दा बढी पर्यटक आउने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।