राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेविसंघको विरोध

काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।

ग्रामीण आदर्श क्याम्पस, मनोहर क्याम्पस र एनआर क्याम्पसको आयोजनामा गोँगबु चोकमा भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मूल्यवृद्धिसम्बन्धी आन्दोलन नेविसंघको मात्र सबै नेपालीको भएको बताए ।

“पेट्रोलियम पदार्थको वृद्धिले हरेक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ, जनता मारमा परेका छन्, त्यसैले नेविसंघ विरोधमा उत्रिएको हो,” उनले भने ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । पछिल्लो मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य रु ११५ र डिजेलको मूल्य रु ९५ पुगेको छ ।