देश

वायु प्रदूषण तथ्यांकको प्रयोगमा जोड

काठमाडौंँ । राजधानीलगायत देशका प्रमुख शहरहरुमा देखिएको वायू प्रदूषणको समस्याको समाधानका लागि यससम्बन्धी आवश्यक तथ्यांकहरुको व्यवस्थित ढंगबाट संकलन र सहजरुपमा प्रयोग हुनुपर्नेमा जोड दिइएको छ ।

अमेरिकी दूतावासको सहयोगमा स्वच्छ ऊर्जा नेपालले आज यहाँ निर्माता, कार्यान्वयन तह र नागरिक–सरकारका लागि वायु गुणस्तर सुधारसम्बन्धी खुल्ला तथ्यांक विषयक कार्यशालाका सहभागी विज्ञहरुले सन् १९८२ देखि नै वायु प्रदूषणसम्बन्धी तथ्यांकहरु संकलन गर्न शुरु भएपनि तिनको सही प्रयोग नहुँदा वायु प्रदूषणको समस्या अहिले झन विकराल बन्दै गएको भन्दै सरकार लागि सामूहिक प्रयास आवश्यक भएको धारणा व्यक्त गरे ।

कार्यशालामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीलाई स्वच्छ राख्ने जिम्मेवारी हरेक नागरिकको रहेको बताउँदै छिटै विद्युतीय सवारी, मनोरेल सञ्चालन गरी बढ्दो सवारी चापसँगै वायु प्रदूषणको समस्या कम गर्न महानगरपालिका लागिपरेको उल्लेख गरे ।

उनले विभिन्न अभियानको नाममा फोटो खिचेर फेसबुकमा राख्ने प्रवृत्तिले शहर सफा हुन सक्दैन भन्दै खुट्टामा लगाउने जुत्तालाई वातानुकूलित ढंगबाट दराजमा बिक्रीका लागि सजाएर राख्ने र तरकारीलगायत अन्य खाद्य पदार्थ सडकमा खेल्ला बेच्ने सोचमा पनि परिवर्तन आउन जरुरी छ भने ।

अमेरिकी दूतावासका दक्षिण एसियाका लागि वातावरण अधिकृत सारा लिट्केले वायुको गुणस्तरीय व्यवस्थापनका लागि सम्बन्धित निकायहरुबीच समन्वय र सूचनाको आदानप्रदान गर्नुपर्ने खाँचो औँल्याए ।

स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रवन्धक राजन थापाले नेपालमा वायु गुणस्तर व्यवस्थापनका लागि नीतिगत व्यवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै संविधानले प्रदान गरेको स्वच्छ वातावरणमा बाच्न पाउनुपर्ने मौलिक हकलाई प्रत्याभूत हुने गरी भएका नीतिगत व्यवस्था र परिवर्तित सन्दर्भमा त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

वातावरण विभागका वरिष्ठ रसायनशास्त्री शंकरप्रसाद पौडेलले विभागमा विभिन्न संस्थाहरुको सहयोगमा देशका विभिन्न स्थानमा वायुमापन उपकरण राखेर तथ्यांक संकलन गरिरहेको र त्यसको आधारमा वायु प्रदूषणको समस्या समाधान गर्न सजिलो हुने बताए ।