प्रदेश 1

काँग्रेस नगर सचिव ढुंगानाको निधन

बनियानी, झापा । नेपाली काँग्रेसका भद्रपुर नगर सचिव शैलेश ढुंगानाको आज निधन भएको छ । भद्रपुर–७ निवासी ४९ वर्षीय ढुंगानाको ओमसाई पाथीभरा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ढुंगाना मिर्गौला र कमलपित्त रोगबाट ग्रसित थिए । उनलाई केही दिनदेखि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिँदै आएको पारिवारिक स्रोतले जनाएको छ ।

ढुंगाना झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समितिका कार्यालय सचिवमा विगत दुई दशकदेखि कार्यरत थिए । काँग्रेस भद्रपुर नगर सचिवमा दुई कार्यकाल बिताइसकेका ढुंगाना नेपाल रेडक्रस सोसाइटी उपशाखा भद्रपुरको कोषाध्यक्ष, नेपाल अपांग संघ झापाको सदस्यलगायत विभिन्न संघसंगठनमा आबद्ध थिए । उनको आजै मेची नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।