शिक्षा

गर्मी बढेको बहानामा विद्यालय बन्द

चितवन । जिल्लाका केही निजी विद्यालयको संस्था भरतपुर इङ्गलिस स्कुल सोसाइटी (बेस) ले गर्मी बढेको भन्दै आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेको छ ।

दुई दिन अघिनै यस समयमा वर्षात हुने मौसम पूर्वानुमान विभागले जनाएको थियो । विद्यालय बन्द आह्वान गरिएको सोमबारदेखि नै वर्षा भइरहेको छ । जसका कारण तापक्रम पनि सामान्य अवस्थामा झरेको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) अन्तर्गत रहेको भनिएको सो संस्था कुनै पनि निकायमा दर्ता छैन । तर सोही संस्थाको आह्वानमा आजदेखि चार दिनसम्म भरतपुर महानगरभित्रका ४३ निजी विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको छ ।

बेसले चर्को गर्मी भन्दै विद्यालय बन्द आह्वान गरेको दिन यस क्षेत्रको तापक्रम ३६ डिग्री सेन्टिग्रेड थियो । जिल्लामा यो मौसममा तापक्रम ३८ डिग्रीभन्दा बढीसम्म हुने गरेको छ ।

अभिभावक र कतिपय निजी विद्यालयका प्राचार्यले मनोमानी विद्यालय बन्द गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । गर्मीको समयमा घरमा भन्दा विद्यालयमा विद्यार्थी सुरक्षित हुने गर्दछन् । बेसका अध्यक्ष लक्ष्मी चालिसेले गर्मी बढेका कारण विद्यालय बन्द गर्न दबाब परेकाले बिदा गरिएको बताए ।

भरतपुर महानगरपालिकाको शिक्षा शाखाका अधिकृत बाबुराम दवाडीले बर्षे विदामा अहिले बिदा गरेको समय पढाउन भनिएको र त्यसो नगरिए कारबाही गरिने बताए ।