समाचार

रकम भुक्तानीको पहल गर्न अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री डा .युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताए ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने प्रतिबद्धता जनाए । महासंघका कार्यबाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा आज गएको प्रतिनिधिमण्डलले सरकारी निकायले भुक्तानी गर्नुपर्ने रु ४२ अर्बभन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी मारमा परेको जानकारी अर्थमन्त्री खतिवडालाई गराएको थियो ।

प्रतिनिधिमण्डलले अत्यधिक भार भएका उपकरणमा लाग्ने कर मिनाहा गरिदिन आग्रह गरेको थियो । प्रतिनिधिमण्डलले निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव, व्यवसायी मैत्री ऐन कानूनको आवश्कयता, निर्माणमा सरकारी निकायबीचको समन्वय अभाव लगायतका विषयमा समेत अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो । महासंघले हालै जारी गरिएको सही कारोबारसहित विवरण बुझाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीलाई ब्याज तथा हर्जाना छुट गरिने सूचनाप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

सूचनाले इमान्दार व्यवसायीलाई मर्का पर्ने र विवरण नबुझाउने तथा बक्यौता नदेखाउने प्रवृत्ति बढ्न गई राजश्वको लक्ष्य प्राप्तिमा असर पर्न जाने जनसम्पर्क अधिकृत रामचन्द्र गिरीले बताए । व्यवसायीले तिर्नुपर्ने सबै मूल्य अभिवृद्धि कर तथा आयकर २०७५ पुस मसान्तसम्म बुझाएमा ब्याज र हर्जाना छुट दिने सुविधा दिन तथा एक पटकका लागि बुझाउन बाँकी बक्यौता राजश्व फरफारक गर्ने अवसर प्रदान गर्नका लागि पहल गरिदिन आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार यक्षध्वज कार्की, महासचिव रामशरण देउजा, लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइराला, निर्माण उद्योग परिषद्का महासचिव केदार कँडेल, महासंघका जनसम्पर्क अधिकृत गिरी लगायतको सहभागिता रहेको थियो ।