समाचार

मेरो घरभेटी ठेकेदारलाइ पनि कारवाही हुन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कुनै पनि ठेकेदारसँग सम्झौता नगरिने बताएका छन् । मंगलबार गृहजिल्ला पुगेका दाहालले पत्रकारहरुसँग कुराकानी गदैँ यदि गल्ती गरेको भए आफ्नो घरभेटी ठेकेदारलाई पनि कारवाही गरिने बताएका हुन् ।

कानुनी राज्य भन्दा माथि कोही पनि नरहेको बताउदैँ उनले भने, ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कार्वाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’

अबको सरकारको मुख्य गन्तब्य विकास र समृद्धि भएको बताउदैँ उनले त्यसका लागि भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापना गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले नेपाली कांग्रेसले एउटै पार्टीबाट सभामुख र उपसभामुख राखेको भन्दै बखेडा झिक्नुको कुनै अर्थ नरहेको बताएका छन् । सभामुख र उपसमभामुख उहिले फरक फरक पार्टीबाट राखिएको र उनीहरु अहिले पार्टीमा नरहेको दाहालको भनाइ छ । राजनीतिक पार्टीबाट राजिनामा दिएका सभामुख र उपसभामुखलाइ पार्टीकै हो भन्नु गलत भएको दाहालको भनाइ छ ।

साथै उनले वर्तमान बजेटबारे पनि टिप्पणी गरेका छन् । बर्तमान बजेट समय सान्दर्भिक भएको दाहालको ठम्याइ रहेको छ ।