खेलकुद

खेलबाट देशलाई चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताए । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता/कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उनले खेलाडीको कडा परिश्रम र कौशलताका कारण उनीहरुले जित्ने खेलबाट देशलाई विश्वमा चिनाउन सकिने बताए ।

पार्टीका प्रशिक्षण विभाग प्रमुख भूवन पाठकले मानिसको क्रुरतालाई शान्त पार्न खेलकुदको विकास गरिएको जानकारी दिँदै यस क्षेत्रलाई समय सापेक्ष नयाँ खेलको विधा विकास गरिँदै गएकामा फुटसल त्यसैको नमूना भएको बताए । संगठनका अध्यक्ष महेशबहादुर सिंहले देश र जनताको विकास तथा प्रगतिका लागि नेता तथा कार्यकर्ताका बीच समन्वय र सहकार्यको खाँचो रहेको बताउँदै उनीहरुको मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सो प्रतियोगिता गरिएको जानकारी दिए ।

उक्त प्रतियोगितामा पुरुषतर्फ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन तथा महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले विजय प्राप्त गरेका छन् । हाँडीगाउँस्थित धन्वन्तरी फुटसल प्रालिमा आयोजित सो प्रतियोगितामा छ टिमको सहभागिता रहेको सो खेलको फाइनलमा पुरुषतर्फ राप्रपा केन्द्रीय कार्य समितिको टिमलाई राप्रविसं टिमले जितेको हो ।

यस्तै, महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीचको खेलमा राप्रमसंले विजय प्राप्त गरेको छ ।