राजनीति

जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध छ ।”

आफ्ना भनाइ ढुक्कसँग राख्न जनतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “जनताको कुनै पनि प्रश्न निरुत्तरित हुँदैन, समय सन्दर्भअनुसार हरेक प्रश्नको हल हुन्छ ।”

आफूले यथार्थमा आधारित रचनात्मक आलोचना होस् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले कानूनअनुसार जनताको सेवा गरेर कर्तव्य पूरा गर्ने बताए ।

सामाजिक न्यायमा आधारित सुदृढ राष्ट्रिय एकतामा मुलुकलाई अगाडि बढाउने बताउँदै प्रधानमन्त्री ओलीले विकासको बाटोमा सही नीति र कार्यक्रमका साथ सरकार अगाडि बढेको दाबी गरे ।

उनले भने, “सुशासनको बाटोबाट समृद्ध नेपाल र सुखी नेपालीको बाटोमा जाँदैछौँ ।” प्रधानमन्त्री ओलीले कूल गार्हस्थ उत्पादनले मात्र सरकारले अगाडि बढाएको अभियान पूरा नहुने भन्दै त्यसका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “हुनेहरुको खोसेर बाँड्ने भनेको होइन, नहुनेहरुलाई हुने बनाउने सरकारको अभियान हो ।” उनले लोकतन्त्र सभ्य, सु–संस्कृत, आत्मअनुशासित र मर्यादित हुनुपर्नेमा जोड दिए ।

जनतालाई सकारात्मक अधिकारको प्रत्याभूत गराउने सरकारको लक्ष्य भएको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले स्वार्थमा भन्दा पनि सामाजिक जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा कथा नेपालका प्रबन्ध निर्देशक मनोज पाण्डेले ‘हेलो प्रधानमन्त्री’ कार्यक्रम विभिन्न टेलिभिजनमार्फत हरेक १५ दिनमा एकपटक जनताको प्रश्नको जवाफसहित आउने जानकारी दिए ।

उनले कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रम, सरकारको बजेट र प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई आधार बनाउने बताए ।