समाचार

अब राजनीतिक भाषण धेरै गर्नु छैन, कामको शुरुवात भइसक्योः मन्त्री बाँस्कोटा

बनेपा । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब देशमा समृद्धिको अभियान शुरु भएको बताएका छन् ।

आज काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका–१०, जोगिटारमा हिगुवापाटी–ज्याम्दी–दोलालघाट सडक पुनःनिर्माण तथा स्तरोन्नती आयोजनाको शिलान्यास गर्दै उनले अब दिगो विकासतर्फ देशले प्रवेश गरेको बताए ।

“अब राजनीतिक भाषण धेरै गर्नु छैन, कामको शुरुवात पनि भइसकेको हुनाले अब काम गरेर देखाउने हो” उनले भने ।

मन्त्री बाँस्कोटाले हातमा पैसा परेपछि मात्रै सुधार भयो भन्ने चिन्तन छोड्न सबैमा आग्रह गरे । सुनकोशी तेस्रो परियोजना बजेट भाषणमा राखेर रु ५० करोड छुट्याएर इञ्जिनियर बगरमा ड्रिलिङ गर्न खटिरहेको उल्लेख गर्दै यसका लागि विदेशी सहयोग लिन कोशिस भइरहेको बताए ।

संविधानमा नै नेपाल राज्य समाजवाद उन्मुख भनेर उल्लेख गरेकाले समृद्धि प्राप्त र विकास निर्माण गर्ने कुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्ने कुरा नै नभएको उनको भनाइ थियो ।

सुशासनका काम प्रधानमन्त्रीको कार्यालयबाट शुरु गरेको उल्लेख गर्दै अब भ्रष्टाचार एकादेशको कथा हुने जसका लागि शासकीय सुधारदेखि संस्थागत, व्यवस्थापकीय र काम गर्ने संस्कृतिको सुधार गरेर सरकारले देशको विकास गर्न लागिपरेको बताए ।

मन्त्री बाँस्कोटाले सबै तिरको सिन्डिकेट अन्त्य हुने बताए । “सिन्डिकेट कँही पनि हुँदैन, त्यसले विकासको गतिलाई रोक्ने भएकाले हटाएर प्रतिस्पर्धा गराउन लागेका छौं ।” उनले भने ।

सरकारले चमकधमक कुरा नगरेपनि आर्थिक विकास र आर्थिक सुशासन यी दुई कुरालाई जोड दिएको उल्लेख गरे । उनले जिल्लाको डाँडापारिबाट इन्टरनेटको सुविधा उपलब्ध गराएर इलाका प्रशासन कार्यालय स्थापना गरी त्यहीँबाट नागरिकता दिन शुरु गरेर एउटा नागरिकताका लागि रु पाँच हजार खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गरेको बताए ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर तामाङले कुनैपनि विकास निर्माणको काम वातावरणमैत्री रुपमा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख लोकनाथ रेग्मीले सडक निर्माणको अवस्थालाई दिगोपन दिन ठूूला मालबाहक सवारीसाधन विशेष गरी टिपरलाई उक्त सडकमा नगुडाउन आग्रह गर्नुभयो ।

भ्याटसहित रु २१ करोड ३२ लाख ४५ हजारको बजेटमा निर्माण कार्यका लागि खरीढुंगा÷खानी÷ब्राइट जेभीसँग यही जेठ २१ गते सम्झौता भएको हिगुवापाटी–ज्याम्दी–दोलालघाट सडक २०७६ मंसिर १ भित्रमा सम्पन्न गरिसक्नु पर्नेछ ।