पर्यटन/संस्कृति

सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ । समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले रु दुई करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ । दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी–बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराएको हो ।

विश्वसमुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै नेपाललाई (युरो २२५,०००) राशिको अनुदान प्रदान गरेको सञ्जालका संस्थापक शिवप्रसाद ढकालले जानकारी दिए । समुदायमा आधारित दिगो पर्यटन विकासमा योगदान गरेबापत यस क्षेत्रमा नेपालले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय अनुदान पाएको हो ।

यही जेठ १ देखि १७ गते अर्थात् (मे १५ देखि ३१, २०१८) सम्म नेदरल्याण्डको एम्स्ट्र्डममा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट सञ्जालका संस्थापक ढकालले सहभागिता जनाएका थिए । कार्यक्रममा बुकिङ डटकमले गन्तव्यहरुमा अधिक पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवं सामाजिक पक्षलाई सकारात्मक प्रभाव पर्नेगरी स्थानीय समुदायको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीलाई करीब २० लाख युरोबराबरको राशि अनुदान उपलब्ध गराएको थियो ।

ढकालले रासससँग कुरा गर्दै होमस्टेको क्षेत्रमा नेपालले ठूलो उपलब्धि हासिल गरेको र सो रकममार्फत प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइने बताए । व्यवसाय प्रवद्र्धनार्थ वेबसाइट बनाई समुदायलाई सहभागिता गराएर स्थानीय जीविकोपार्जनमा टेवा पुग्नेगरी कार्यक्रम अघि बढाइने उनको भनाइ छ । पर्यटन व्यवसायी ढकालका अनुसार काभ्रेपलाञ्चोकको पनौतीमा ‘पनौती कम्युनिटी होमस्टे’ एकजना पथप्रदर्शकको घरबाट शुरु गरिएको थियो । अहिले २२ वटा घरमा होमस्टे पुगिसकेको छ भने १३ वटा सामुदायिक होमस्टेलाई एकै थलोमा ल्याएर सशक्तीकरण तथा प्रवद्र्धनको काम गरिएको छ ।

बुकिङ डटकम विश्वको तेस्रो ठूलो अनलाइन बजार क्षेत्र हो । पहिलो अमेजन डटकम र दोस्रोमा अलिबाबा डटकम पर्छन् । नेपालमा रहेका सामुदायिक होमस्टेको सञ्जालका रुपमा रहेको संस्थाले विश्वका पर्यटकलाई नेपाली समुदायको संस्कृति, रहनसहन, वेशभूषा, खानपिनलगायत विविध स्थानीय पक्षको वास्तविक अनुभव प्रदान गर्ने सेवा उपलब्ध गराउँदै आएको छ ।

स्थानीयवासीलाई पर्यटन सेवामा आबद्ध गराई लाभान्वित गराउनुका साथै विभिन्न १३ वटा समुदायमा महिला सशक्तीकरणमा समेत सहयोग पु¥याइरहेको संस्थाले जनाएको छ । विश्वव्यापी बृहत् ई–कमर्स कम्पनी–बुकिङ डटकमद्वारा सञ्चालित ‘द बुकिङ बुस्टर’ तीन हप्ते क्षमता अभिवृद्धि र सदस्यता अभिमुखीकरण तथा सशक्तीकरण कार्यक्रम हो । यसले विश्वभरिबाट चयन भएका प्रत्येक कम्पनीलाई युरो ५०, ००० राशिबराबरको अनुदान प्राप्त गर्ने अवसर प्रदान गर्छ ।

नेपालबाट प्रथमपटक चयन भएको कम्युनिटी होमस्टेले युरो २२५, ००० धनराशि प्राप्त गर्नुका साथै बुकिङ डटकमका विविध रणनीतिक विशेषज्ञबाट एक वर्षको अवधिभर निरन्तर सल्लाह–सुझाव तथा आवश्यक तालीम प्राप्त गर्ने अवसर प्राप्त गरेको छ । साथै, बुकिङ डटकमले भविष्यमा संस्थाको विकासका लागि सम्भावित नविनतम अभ्यास तथा प्रयोगका लागिसमेत सहयोग र सहकार्य प्रदान गर्ने भएको छ । यस अतिरिक्त ‘एमाजोन वेब सर्भिसेस’ ले कम्युनिटी होमस्टेको अभ्यास एवं सेवालाई प्रवद्र्धन गर्न क्रेडिट, टे«निङ एण्ड सपोर्टजस्ता एमाजोन अनलाइन सेवा तथा स्रोत उपलब्ध गराउने भएको छ ।

सानो लगानीमा आफ्नै घरमा पाहुनालाई स्थानीय परिकारको साथ सत्कार गर्ने नेपाली प्रचलन अर्थात् होमस्टेले अन्तर्राष्ट्रिय पर्यटकको मन जित्न थालेको छ । फरक स्वाद तथा उत्कृष्ट सेवा सुविधाको खोजीमा पर्यटकलाई नेपालका मौलिक होमस्टेले सुविधा दिने गरेका छन् । होमस्टेमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्दो छ । आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार चालू आवको आठ महिनासम्ममा नेपालमा २५१ सामुदायिक होमस्टे सञ्चालनमा छन् । आव २०७३/७४ सम्म तारास्तरको होटल संख्या १२५ पुगेको छ भने चालू आवको प्रथम आठ महिनामा पर्यटकस्तरीय होटल ९७७ पुगेको छ । सन् २०१७ मा करीब १० लाखको हाराहारीमा बाह्य पर्यटक नेपाल आएका थिए ।