पर्यटन/संस्कृति

गुर्जामा ‘छन्त्याल’ होमस्टे

बाबियाचौर, म्याग्दी । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे शुरु गरेका हुन् ।

यहाँका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जावासीले फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति देखाउने गर्छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ । गुजुमुज्ज परेका परम्परागत शैलीका घर भएको बाक्लो बस्ती, छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सौन्दर्य गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ ।

लुलाङदेखि जंगल र भिरको बाटो आठ घण्टाको पैदल हिँडेपछि पुगिने गुर्जादेखि ढोरपाटन शिकार आरक्षको रुघाचौर जोड्ने शिकारी पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको रु दश लाख अनुदानमा निर्माण भएको उक्त पदमार्गको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ । पैदल यात्रासँगै घोडचढी सुविधा पनि यहाँ छ । ढोरपाटन शिकार आरक्षको घुस्तुङ र वार्षे ब्लक यही गुर्जामा पर्दछ । गुर्जामा यार्सागुम्बा, निरमसी, पाँचऔँलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ ।

स्थानीयवासी प्रेम छन्त्यालका अनुसार पर्यटक आउन थालेपछि स्थानीयवासीले गाउँलाई सफा र सुन्दर बनाएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेपछि उत्साहित बनाएको यशोदा होमस्टेकी सञ्चालिका भीममाया छन्त्यालले बताए । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट ११ घण्टाको पैदल यात्रापछि गुर्जा गाउँ पुग्न सकिन्छ ।