देश

सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

भक्तपुर । दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य शुरु गरिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुको पहलमा अतिक्रमित सडकका संरचना भत्काएर सडक विस्तार कार्य शुरु गरिएको हो ।

दुईवटै वडाको सिमानामा पर्ने उक्त सडकको मापदण्डभित्र पर्ने स्थानीयवासीका घरका पर्खाल, पेटी र टहरा भत्काउन शुरु गरेको वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए । केहीदिनभित्रै संरचना भत्काएर सडकलाई फराकिलो बनाउने र सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर प्रवेशद्वारसम्मको सडकलाई फराकिलो बनाउने उनले बताए ।

एक महिना अगाडि स्थानीयसँग छलफल गरी स्थानीय बासिन्दालाई सडक मापदण्डभित्र पर्नेहरुले आफ्नो कम्पाउण्ड पर्खाल भत्काउन, टहरा हटाउन सूचना जारी गरेपछि पनि स्थानीयवासीले नहटाएकाले वडा कार्यालयले आफैँ भत्काउन थालेको हो । यद्यपि सडक मापदण्डभित्र परेका घर भने तत्काल नभत्काइने बताउँदै अध्यक्ष थापाले घरको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्ने बताए ।

वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुले हाललाई स्थानीयवासीका घरलाई क्षति नपुगोस् भनी बलियो गरी बनाइएको भ¥याङ, पेटीलगायतका अरु संरचना घरधनी आफैँले सात दिनभित्र भत्काउने गरी कागज गरेको बताए । सडक फराकिलो बनाएपछि सडकको गाभ्रेल गरिने भएको छ । साथै सात मिटर सडकलाई विस्तार गरी १४ मिटर फराकिलो सडक बनाउने गरी सडक विस्तार आयोजनाले डिपिआर तयार गरिरहेको बताइएको छ ।