कृषि

साउनेवासीको आम्दानीको मुख्य स्रोत केरा

गाईघाट, उदयपुर । त्रियुगा नगरपालिका–१५ साउनेका बासिन्दाको आम्दानीको मुख्य स्रोत केरा खेती बन्न पुगेको छ । व्यावसायिक रुपमा केरा खेती गर्दै आएका साउनेवासी पारिवारिक समृद्धितर्फ अगाडि बढ्न थालेका छन् । उक्त गाउँमा करीब पैँतीस घरपरिवारको बसोबास रहेको छ । “हाम्रो आयआर्जनको मूल स्रोत नै केरा खेती हो,” स्थानीयवासी मोहन केपीछाकी मगर बताउन्छन् ।

उनी भन्छन्, “भिरालो पाखोबारी जमीन छ, उब्जाउ धेरै हुँदैन, अधिकांश जग्गामा अहिले केरा खेती शुरु गरेका छौँ, केरा बिक्रीको अम्दानीले नै घरखर्च चलाएका छौँ ।” एक दशकदेखि केरा उत्पादन गर्दै आउनुभएका लोकबहादुर मगर आफ्नो मुख्य आम्दानीको स्रोत केरा खेती भएको बताउन्छन् । केरा बिक्री गरेर नै छोरोलाई काठमाडौँमा स्नातक तह पढाउन थालेको उनको भनाइ छ । उनले मासिक रु ४० हजारसम्म केरा बिक्री गरेर आम्दानी गरे ।

गाउँसम्म सडक पुगेकाले केरा बिक्री गर्न समस्या छैन । सदरमुकाम गाईघाट नै केराको मुख्य बजार हो । स्थानीयवासी धनकुमार राई यहाँका अधिकांश कृषकले व्यावसायिक रुपमा केरा खेती संलग्न रहेका बताउन्छन् । कृषकले केरा बिक्री गरेको रकम बैंक खातामा जम्मा गर्नुका साथै सहकारीमा समेत लगानी गर्न थालेका स्थानीयवासी जुद्धबहादुर मगरले बताए । चिनियाँ चम्पा, अगस्टा, मर्चे, झप्रीलगायत जातका केरा कृषकले लगाएका छन् ।