देश

बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि निःशुल्क जग्गादान

भीमदत्तनगर । कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् ।

बस्ती बसेको करीब पाँच दशकपछि सो सडक खुलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म खेतको आलीमा हिँड्डुल गर्दै आएका स्थानीयले सडकमा पर्ने जग्गा निःशुल्क रुपमा दान गरेपछि सो सडक सञ्चालनमा आएको ८३ वर्षीय स्थानीय मनिदत्त भट्टले बताए ।

“सडक नहुँदा बन्धकजस्तै भएको थियौं,” उनले भने “सडक बनाउने भनेपछि खुशी हुँदै मैले पनि जग्गा दान दिए ।” २०२४ सालमा बसाई सरेर यहाँ आउनुभएका भट्टले सडक नभएकै कारण विगतमा धेरै पीडा भोग्नुपरेको स्मरण गर्दै उक्त सडक नहुँदा पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको बताए । स्थानीय तहको अग्रसरताका कारण पनि गाउँमा सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधार आउन थालेको उनको भनाइ छ ।

“सडक सञ्जालसंग गाउँ जोडिँदा साच्चै सिंहदरबार गाउँमै आएको भान भयो,” उनले भने, “अब गाउँका बालबालिकाले पनि स्कूल जाँदा दुःख भोग्नु पर्ने छैन ।”

स्थानीय बैजनाथ माध्यमिक विद्यालयका प्राचार्य थिरेन्द्रचन्द्र भट्टले सडक खुलेपछि विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज भएको बताउँदै “विद्यार्थीसँगै सडक विस्तार हुँदा यहाँका झण्डै १०० परिवारलाई सहज भएको छ,” भने । सडक नहुँदा विगतमा विद्यार्थी स्कूल सधैँ ढिलो पुग्थे, उनले बताए । स्थानीय जगदीश विष्ट पनि सडक खुलेपछि खुशी व्यक्त गरे । आफूले पनि सडक खुलाउन जग्गा दान गरेको जानकारी दिँदै उनले सडक खुल्दा गाउँ नै हर्षित भएको बताए ।

यहाँको बेतकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंहले बस्ती लामो समयअघि बसेको भए पनि सडक पहुँचबाट टाढा रहेको बताए । उनले वडा कार्यालयको सक्रियता र स्थानीयको सहयोगमा दुई किलोमिटर सडक बनाइएको बताए ।

“स्थानीयवासीसँगै यहाँ स्थापना हुने दैजी छेला आद्योगिक क्षेत्र जान पनि यो सडक छिटो हुन्छ,” वडाध्यक्ष सिंहले भने, “स्थानीयलाई पनि यो सडकले सदरमुकाम र विद्यालय जान सजिलो भयो ।” उनले स्थानीयले दिएको जग्गामा सडक खोलिएको बताउँदै उक्त सडकमा रु पाँच लाख बराबरको कालोपत्रे हाल्ने बताए । लालपूर्जा भएको जग्गामा पनि सडक बनाउन स्थानीयले देखाएको भावनाको वडाध्यक्ष सिंहले सम्मानसमेत व्यक्त गरे

बेतकोट नगरपालिकाले नगरभित्र सडक नभएको ठाउँमा सडक विस्तारका साथै साँघुरो सडकलाई फराकिलो बनाउने, कालोपत्रे सडक भएको ठाउँमा स्तरोन्नति गर्नेलगायतका कामलाई तीव्रता दिएको छ ।