प्रदेश 1

मणि थुक्पा उद्योग पूर्वमै उत्कृष्ट

सुरुङ्गा, झापा । झापा अर्जुनधारा नगरपालिका–१० स्थित मणि थुक्पा उद्योग प्रदेश नं १ को उत्कृष्ट घरेलु तथा साना उद्योगको रुपमा पुरस्कृत भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर प्रदेश नम्बर १ मा रहेका उद्योगमध्ये मणि थुक्पा उद्योगलाई उत्कृष्ट उद्योगको रुपमा पुरस्कृत गरेको हो ।

झण्डै १५ वर्ष अघि रु २० लाख लगानीमा डम्बरकुमारी श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त उद्योगले पछिल्लो दुई वर्षयता रंङ र केमिकल रहित थुक्पासहित १५ प्रकारका खाद्य सामग्री उत्पादन गर्दै आएको छ ।

स्वास्थ्यका दृष्टिकोणले पोषणयुक्त खाद्य वस्तु उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो उद्योगलाई प्रदेश नंम्वर १ मा उत्कृष्ठ घरेलु तथा साना उद्योगका रुपमा पुरस्कृत गरेको हो । विभागले दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा दोस्रो खाद्य स्वच्छता महिनाको अवसरमा सात प्रदेशका सात उद्योगलाई पुरस्कृत गरेको बताइएको छ ।

स्वच्छ र गुणस्तरीय खाद्य उत्पादन नै उद्योगको प्रमुख प्राथमिकता हो, उद्योगका सञ्चालक श्रेष्ठले भन्नुभयो– “हामीले विगत दुई वर्षदेखि मिसावट रहित, रङ र केमिकल रहित खाद्य वस्तु उत्पादन गर्दै आएका छौँ ।”

खाद्य नियमावली २०७० को अनुसूची १० को दफा २२ मा प्रति किलोमा रङ २०० मिलिग्राम नबढाई हाल्ने प्रावधन भए पनि पकाएको खानेकुरामा रङ हाल्न नपाइने उल्लेख छ । तर, पछिल्लो समय अधिकांश तयारी खानामा रंङको प्रयोग गरिएको पाईन्छ । यसले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको चिकित्सकको भनाइ छ ।

दश जनालाई रोगगारी
मणि थुक्पा उद्योगले अहिले दश जनालाई रोगजारी प्रदान गरेको छ । पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङसहित मोरङ तथा सुनसरीमा समेत यो उद्योगको उत्पादन पुग्ने गरेको छ ।

कूल बजार मागको १० प्रतिशत मात्र आफ्नो उद्योगको सामग्री बजारमा जाने गरेको सञ्चालक श्रेष्ठको भनाइ छ । उनी भन्छन् –“पछिल्लो समय थुप्कालगायत तयारी नुडल्सको माग पूर्वमा अधिक छ, हामीलाई धान्नै गाह्रो छ ।”

उत्पादनका हिसाबले हामीले कम मात्रै सामग्री उत्पादन गर्न सकेका छौँ श्रेष्ठले भने– “तर, गुणस्तरमा भने कुनै कञ्जुस्याइँ छैन ।”

हाल उद्योगले नेपालमै पहिलो पटक सोलार प्रविधिबाट थुक्पा सुकाउने मेसिन भित्र्याउन लागेको पनि उनले जानकारी दिए । हामीले उत्पादन गरेको सम्पूर्ण सामग्री ‘जङफुड’ अन्तर्गत पर्दैन, श्रेष्ठले भने– “हामी फापर, आँटा र भेजिटेवल सामग्री बजारमा लिएर आएका छौँ, निकट भविश्यमा नै ननभेजिटेवल सामग्री पनि बजारमा ल्याउँछौँ, जसका लागि ल्याब टेष्टमा पठाएका छौँ ।”

श्रेष्ठको उद्योगमा उत्पादित सवै सामग्री अजिना, रङ र केमिकलरहित हुने गरेको बताइन्छ ।