समाचार

यातायात व्यवस्थाको नियमावली चाँडो कार्यान्वयनको माग

काठमाडौँ । नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले राजपत्रमा गत चैत १४ गते प्रकाशित सवारी तथा यातायात व्यवस्थाको आठौँ संशोधन नियमावली चाँडो कार्यान्वयन गर्न माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लोकमान खत्रीले उक्त नियमावलीले हेभी मेशिन चालकको अभिलेख प्रणालीलाई व्यवस्थित बनाउने र अनुमतिपत्र प्राप्त गर्नका लागि दुई वर्ष साना सवारी चलाउनुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गर्ने हुँदा अविलम्ब लागू गर्न माग गरे ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले नियमावलीले निर्माण क्षेत्रमा क्रियाशील करीब २० हजार अपरेटरको हकहित संरक्षणका साथै उनीहरुको चालक अनुमतिपत्र उपलब्ध गराउने मार्ग खुला गरेको जानकारी दिए।

हेभी इक्यूपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले त्यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयको खाँचो औँल्याउँदै नियमावलीले विनालाइसेन्स लामो समयदेखि विकासनिर्माणमा कार्यरत अपरेटरको सवारी इजाजतको सहज व्यवस्था तथा उनीहरुको सुरक्षा बीमा, जीउधन रक्षाको व्यवस्था गरेको बताए ।