गण्डकी प्रदेश

प्रदेश नं ४ मा प्रतिपक्षी दल काँग्रेसद्वारा प्रदेशसभा अवरोध

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।

बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेको हो ।

काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । विसं २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।

काँग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको छ । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित गरिएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ४.५५ बजे मात्रै बैठक शुरु भएको थियो ।

बैठकको प्रारम्भमा नै काँग्रेसका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि सभामुखले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न दिनुभयो । नेता नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राखे । उनले बजेटलाई भने नरोक्ने बताउँदै उनले बजेटका लागि सहयोग गर्न तयार भएको धारणा राखे ।

त्यसपश्चात् सभामुखले संसद्को कारबाही बढाउन लागे पनि रोष्टम अघि गएका काँग्रेसका सदस्यहरुले नारा लगाएपछि पुनःआधा घण्टाका लागि बैठक स्थगित भएको छ ।