राजनीति

तरुण दलका जिल्ला अध्यक्ष पटेलको निधनप्रति सभापति देउवाद्धारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत अध्यक्ष पटेलको निधनबाट भातृ संस्था तरुण दल र काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

जिल्ला अध्यक्ष पटेलको गएराति ४२ वर्षको उमेरमा काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय पटेल विगत दुई महिनादेखि मिर्गौला, श्वासप्रश्वास र प्यानक्रियाजको समस्याबाट पीडित थिए । स्व पटेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

सभापति देउवाले उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । स्व पटेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज अपराह्न पार्टीको केन्द्रीय कार्यालयमा राखिएको थियो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर अध्यक्ष पटेललाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

त्यसैगरी पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्कालगायत केन्द्रीय सदस्यले पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि पार्टी र नेपाल तरुण दलका नेता एवं कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो । उनको अन्तिम संस्कार पर्सामा गरिने भएकाले पार्थिव शरीरलाई आजै पर्सा लगिएको छ ।