प्रदेश 1

एकैदिन ११५ ले पाए नागरिकता

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् ।

सर्वसाधारण जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने सरकारको नीतिअनुरुप जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालित उक्त शिविरबाट गाउँपालिका अन्तर्गतका विभिन्न वडाका सर्वसाधारणले नागरिकता प्रमाणपत्र लिएका हुन् ।

नागरिकता लिनेमध्ये केही जेष्ठ नागरिक पनि रहेका बताइएको छ । यस्तै, जिल्ला कृषि विकास कार्यालयबाट ७१, जिल्ला पशुसेवा कार्यालयबाट ७३, जिल्ला स्वास्थ्य कार्यालयबाट १२४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ११५ र महिला विकास कार्यालयबाट १८ जनाले सेवा लिएका छन् ।

जिल्ला वन कार्यालय र डिचेनडोङ्ला आँखा अस्पतालबाटसमेत दर्जनौँ सर्वसाधारणले सेवा लिएको बताइएको छ । यसअघि पनि जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर सरकारी कार्यालयले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि आवश्यकता हेरी घुम्ती सेवा शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।