कृषि

हराउँदै धानका स्थानीय बीउ

ललितपुर । तीन दशक पहिलेसम्म चितवान जिल्लामा ३१२ जातका धान किसानले रोप्थे । अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् । स्थानीय जात नै लगाउँछु भनेर किसानले खोज्दासमेत पाउने अवस्था छैन ।

चितवानमा मात्रै होइन देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउँदै हो ।

तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र हाइब्रिड धानको बीउको प्रयोग बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले जनाएको छ ।

स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउनुहुन्छ । पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर धानबालीमा परेको छ । स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो । उहाँ भन्नुहुन्छ, “तर अहिले अधिकांश ठाउँमा स्थानीय जात लोप नै भइसके ।”

महाशाखा अहिले जलवायु परिवर्तनसँग जुध्न सक्ने बीउको विकास गर्नका लागि अध्ययन÷अनुसन्धानमा लागिरहेको छ । रोगसँग लड्न सक्ने स्थानीय जातको बिउ ल्याएर उन्नत जातका रुपमा विकास गर्न सकिने प्राविधिक पराजुली बताउनुहुन्छ । नेपालमा एउटै जिल्लाको पनि सानो ठाउँमा फरक–फरकखालको हावापानी छ । ती ठाउँपिच्छे पुस्तौँदेखि फरक–फरक जातका धान लगाइँदै आएको थियो । तीमध्ये कुनैमा सुक्खा सहन सक्ने, कुनैमा अगौटे, कुनैमा रोगसँग लड्नेलगायतका गुण छन् । उहाँ भन्नुहुन्छ, “स्थानीय जातमा भएको राम्रो गुण ल्याएर उन्नत जातमा विकास गर्न सकिन्छ ।” अहिलेमात्रै नभएर भविष्यमा समेत ठूलो रोगको प्रकोप आउँदा स्थानीय जात उपयोगी हुन सक्थ्यो ।

स्थानीय जातका तुलनामा उन्नत र हाइब्रिडले बढी उत्पादन दिने भएकाले त्यसको प्रयोग बढेको प्राविधिक पराजुली बताउछन् । नार्कले रोगसँग लड्ने क्षमता बढी भएको बीउ अनुसन्धान र विकास गरेर किसानलाई सिफारिस गरिरहेको छ । धानमा सबैभन्दा बढी मरुवा ९ब्राल्ट० रोगले आक्रमण गर्छ । उनी भन्छन्, “हामीले यो रोगसँग लड्ने जातको विकास गर्न अध्ययन गरिरहेका छौँ ।”

उन्नत वा हाइब्रिडमा अरुखालका गुणभन्दा पनि किसानले कुनले बढी उत्पादन दिन्छ त्यही छनोट गर्दै आएका छन् । हाइब्रिडले उत्पादन बढी दिने भन्दै किसान महँगो तिरेर पनि हाइब्रिड जातका बीउ रोप्छन् । तराईमा एक÷दुईवटा जातका बीउ विकास भए पनि पहाडका लागि हाइब्रिड धानको बीउ सिफारिस भएको छैन । अरु देशकोे हावापानी अनुकूलका बीउ यहाँको हावापानी र माटोमा अनुकूल नहुँदा कुनै वर्षमा उत्पादन नदिँदा किसान हैरान छन् । प्राविधिक पराजुली भन्नुहुन्छ, “किसानले पनि एग्रोभेटका कुराका पछिमात्रै लाग्नुभन्दा राम्ररी बुझेरमात्रै किनेर लगाउनुपर्छ ।” एक वर्ष राम्रो भएको बीउसमेत अर्को वर्षमा नराम्रो हुन सक्छ ।

नार्कले आयात गरेका बीउमात्रै नभएर स्थानीय जातबाट नै उन्नत जातको विकास गर्न सकिने भन्दै धेरै जातका धानलाई निरन्तरता दिँदै आएको छ । यहाँ भइरहेका जातबाट पहाडी क्षेत्रको मौसमलाई सुहाउँदो र उत्पादन बढी दिने बीउ अनुसन्धान भइरहेको छ । अनुसन्धानमा सफल नतिजा दिएका बीउ नै नार्कले पहिले किसानको खेतमा पनि परीक्षण गरेर सिफारिस गर्छ ।

धान नेपालको मुख्य बाली हो । नेपालीले सबैभन्दा बढी खाने अन्न पनि चामल हो । त्यसैले पनि धान रोप्ने महिनालाई किसानले उत्सवका रुपमा ठान्छन् । असारको १५ मा हिलो छ्यापेर मनाउने र दही चिउरा खाने चलन छ । साउन १५ गते चिसो जाओस् भन्दै खीर खाने चलन छ । नेपाली समाजमा धानखेती जीवनशैली र संस्कृतिसँग जोडिएको छ । नेपालको तराईदेखि पहाडी क्षेत्रसम्म धान लगाइँदै आएको छ ।