देश

जथाभावी रुख काट्दा खतरा हुने

ललितपुर । जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उपमहानिर्देशक प्रदीप थापाले बताए । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा आउने पहिरोले स्थानीयवासी हैरान छन् । उनले भने, “प्राविधिक अध्ययनका आधारमा चट्टान कडा भएका ठाउँमा मात्रै बाटो खन्नुपर्छ ।” गलत ठाउँमा बाटो खन्दा बाटोमात्रै होइन सिङ्गो बस्ती नै पहिरोको जोखिममा परिरहेको छ ।

स्थानीय निकायमा जनप्रतिनिधि आएपछि अधिकांशले सडक विस्तारलाई प्राथमिकतामा राखेका छन् । नयाँ सडक बनाउँदा प्राकृतिक प्रकोपको जोखिम नहुने गरेर योजना बनाउनुपर्नेमा उपमहानिर्देशक थापाले जोड दिए । पहिरोका कारण वर्षाको समयमा सडक बन्द हुने हिउँदमा मात्रै चलिरहेका छन् । कतिपय स्थानमा खेतीयोग्य माटो बगाएर लैजाँदा उत्पादन कम भएको छ । कुलो सिँचाइलगायतका संरचना पनि पहिरोका कारण मासिएका छन् । उनले भने, “अरु क्षति त छँदैछ सिङ्गो मानवबस्ती नै बगाउने जोखिम हुन्छ ।”

पहिरोको जोखिम भएको भिरालो जग्गामा रुख बिरुवा रोप्नुपर्ने भए पनि पहिरोको जोखिम भएका ठाउँमा रुख बिरुवाको कमी छ ।