स्वास्थ्य

दुर्गम गौमुलमा स्वास्थ्य चौकी निर्माण

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीयवासी गोरख बोहराले बताए । स्वास्थ्य भवन निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा रु २० लाख ५८ हजार गाउँपालिकाले सहयोग रहेको थियो भने स्थानीयवासीको पाँच लाख जनश्रमदान गरी रु २५ लाख ५८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिएका छन् ।

भवन निर्माणसँगै स्थानीय २५६ परिवार लाभान्वित हुने भएका छन् । घण्टौँ हिँडेर प्रसूति सेवा लिन बाध्य स्थानीयवासीलाई वडामा सेवा सञ्चालन हुँदा सहज हुने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।