देश

आश्रमको वाहन खरीदका लागि रु तीन लाख ७० हजार

काठमाडौँ । विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा आश्रमको सहयोगार्थ रु तीन लाख ७० हजार जुटेको छ ।

सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन संस्थाले देशका १० स्थानमा आश्रम स्थापना गरी ५०० जनालाई आश्रय दिएको छ । विसं २०८२ भित्र नेपालभरका सडकमा मगन्ते नरहने गरी आश्रम स्थापना गर्ने लक्ष्य लिइएको सो अवसरमा जानकारी गराइयो ।

उपत्यकाका पाटन, सामाखुसी र बूढानीलकण्ठमा गरी तीन आश्रम छन् । यी आश्रमका नागरिकलाई सेवा दिन वाहन खरीद गर्न सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा टिकट खरीदबाट रु तीन लाख र सहभागीबाट रु ७० हजार गरी रु तीन लाख ७० हजार सहयोग जुटेको संस्थाका संरक्षक संस्कृतिविद् डा गोविन्द टण्डनले जानकारी दिए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले राज्यले गर्नुपर्ने काम आश्रमले गरेकाले मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वाहन खरीदका लागि नगर परिषद्बाटै बजेट छुट्याएर खरीदको पहल गर्ने वाचा गरे ।