साहित्य

साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन

विराटनगर । नेपाली साहित्य र समालोचनाको क्षेत्रमा लामो समयदेखि क्रियाशील वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीलाई आज यहाँ एक समारोहकाबीच नागरिक अभिनन्दन गरियो ।

चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय करिब १०० भन्दा बढी संस्थाले साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरेका छन् । विसं २००४ मा भोजपुरमा जन्मिएका सुवेदीले समालोचना क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

उनका दुई दर्जनभन्दा बढी मौलिक र सम्पादित कृति प्रकाशित छन् । उनी नेपाल–प्रज्ञा प्रतिष्ठानको दुई पटक प्राज्ञसभा सदस्य भएका थिए । संस्थाले हालसम्म ५० भन्दा बढीलाई सम्मान र पुरस्कृत गरिसकेको छ ।

उनको सम्पादनमा २०२८ सालदेखि प्रकाशित हुँदै आएको ‘बरगाछी’ पत्रिका हालसम्म निरन्तर रुपमा प्रकाशित भइरहेको छ ।

कार्यक्रमका संयोजक गंगा सुवेदीले नेपाली साहित्यमा मात्रै नभएर समाजका हरेक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकाले उनको नागरिक अभिनन्दन गरिएको बताए ।

अभिनन्दन समारोहमा उनलाई भाषाशास्त्री बालकृष्ण पोखरेल, पूर्वमन्त्री एवं सांसद डा मीनेन्द्र रिजाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सदस्यद्वय जयराम यादव र विन्दिया कार्की लगायतले दोसल्ला, माला र टीका लगाएर अभिनन्दन गरेका थिए।

अभिनन्दनका अवसरमा सुवेदीकै उचाई बराबरको ताम्रपत्रसमेत प्रदान गरियो । समारोहमा सुवेदीकी श्रीमती मीना सुवेदीलाई पनि अभिनन्दन गरिएको थियो ।