देश

बोटे युवालाई करेन्ट लगाउँदा घाइते

पाल्पा । बगनासकाली गाउँपालिका–७, दैलातुङका १५ वर्षीय देवबहादुर बोटेलाई करेन्ट लगाउँदा घाइते भएका छन् ।

घाइतेको तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार साँझ कालीगण्डकीमा माछा मारिरहेका युवाको समूहले उनलाई करेन्ट लगाउँदा घाइते बनेको बुबा रुक्माङ्गत बोटेले बताए ।

घाइतेका बुबा रुक्माङ्गत बोटेले स्याङ्जाबाट माछा मार्न कालीगण्डकीमा आएका युवाले छोरालाई खुट्टामा करेन्ट लगाई घाइते बनाएको बताए ।

कालीगण्डकी नदीमा करेन्ट लगाउँदा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत भण्डारीले बताए । नदीमा माछा मारेको हेर्न गएका उनलाई माछा मारिरहेको समूहले करेन्ट लगाएको हो । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।