खेलकुद

नेपालगञ्ज गोल्ड कपको उपाधि लाली रुपन्देहीलाई

नेपालगञ्ज । काठमाडौँको संकटा क्लबलाई एक गोलले पाखा लगाउँदै बुटवलको लाली रुपन्देही–११ ले तेस्रो संस्करणको टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबलको उपाधि जितेको छ ।

लाली रुपन्देही–११ ले दोस्रो संस्करणको नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि पनि गत वर्ष जितेको थियो । गत वर्ष पनि लाली रुपन्देहीले संकटालाई नै पराजित गरेको थियो ।

बाँके जिल्लाको खजुरामा आज भएको फाइनल प्रतिष्पर्धाको दोस्रो हाफमा लाली रुपन्देहीका तर्फबाट जोन ग्रोरीले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक सावित भयो ।

उपाधि विजेता लाली रुपन्देहीले कपसहित नगद रु पाँच लाख हात पारेको छ भने उपविजेता संकटाले नगद रु दुई लाख ५१ हजारमै चित्त बुझाउनु प¥यो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका लाली रुपन्देहीका कप्तान दीपक गुरुङलाई सुजुकी मोटरसाइकलबाट पुरस्कृत गरिएको छ ।
प्रतियोगिताका विजयी खेलाडी र टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पदक, कप र नगद पुरस्कार प्रदान गरे ।