साहित्य

‘सपना हजार’ गीति एल्बम विमोचन

काठमाडौँ । गीति एल्बम ‘सपना हजार’ विमोचन गरिएको छ । डा केशव शर्माको रचना र सन्तोष श्रेष्ठको संगीतमा निर्माण गरिएको उक्त एल्बममा आधुनिक, गजल र राष्ट्रिय गरी तीनवटा गीत रहेका छन् ।
राप्ति साहित्य परिषद्ले यहाँ आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी विवसले एल्बमको विमोचन गरेका हुन् ।

विमोचन गर्दै उनले एल्बममा भएका गीतले राष्ट्रभावलाई समेटिएको बताए । उनले गीत–संगीतले नै संस्कृतिको जगेर्ना गर्दै मानिसलाई आनन्द दिलाउने धारणा राखे ।

संगीत र साहित्य एक अर्काका परिपूरक रहेकाले दुवै जोगाउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ गीतकार डा कृष्णहरि बरालले एल्बममा समेटिएका गीतको भाव स्रोतालाई ऊर्जा दिनेखालको रहेको बताए । उनले गीतमा एउटा रसमात्र नभएर धेरै रस समेटिएको बताए ।

ती गीतहरुमा निशा देशार, शिव परियार, विष्णु नेपाली, इन्द्र बानियाँलगायतले स्वर दिएका छन् भने गीतमा नानी थापा, दीपसर्शनजंग थापा, कमल कोइरालालगायतको मोडलिङ रहेको छ ।
गीतकार डा शर्माले मानिसले आफ्नो भविष्यका लागि देख्ने सपनालाई गीतका रुपमा प्रस्तुत गरिएको बताए ।