पु.समाचार

लोकतन्त्रको आगमनसँगै सञ्चारमाध्यमले फड्को मा¥योः बस्नेत

भक्तपुर । प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले लोकतन्त्र आगमनसँगै नेपालको सञ्चारमाध्यमले निकै ठूलो फड्को मारेको बताएका छन् ।

भक्तपुरबाट प्रकाशित ‘अनन्त सन्देश’ राष्ट्रिय साप्ताहिकको अनलाइन संस्करणको आज शुभारम्भ गर्दै सांसद बस्नेतले नेपाली पत्रकारिताले शाहीकालमा समेत निकै उत्साहपूर्ण ढंगले आफ्नो भूमिका निर्वाह गरेको चर्चा गरे ।

बस्नेतले पत्रकारिता आफैँमा अत्यन्तै संवेदनशील क्षेत्र भएको बताउँदै सञ्चारमाध्यमहरुले आफ्नो संवेदनशीलतालाई ध्यान दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षाविद् प्रा डा उत्तमकृष्ण कर्माचार्यले सामाजिक उत्तरदायित्वको विषयमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले यसको प्रवर्धन हुनु जरुरी भएको बताए ।

यस्तै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले नेपाली पत्रकारिता अहिले पनि चुनौतीपूर्ण अवस्थामा रहेको चर्चा गर्दै पेशागत सुरक्षाको समेत ग्यारेन्टी नभएको बताए ।

अनन्त सन्देशका सम्पादक विमल थापाले झण्डै एक वर्ष अगाडि छापा माध्यमबाट आफ्नो प्रकाशन आरम्भ गरेको अनन्त सन्देशले आफ्नो अनलाइन संस्करणका माध्यमबाट अझ सशक्त ढंगले समाचार सम्प्रेषण गर्ने बताए ।

अनन्त सन्देशका प्रकाशक रत्न सायमीले एउटा जिम्मेवार सञ्चारमाध्यमका रुपमा अनन्त सन्देशले समाचार सम्प्रेषण गर्दै आएकामा अबका दिनमा अनलाइन संस्करणले अझ बढवा दिने वाचा गरे ।