राजनीति

आर्थिक विकासका लागि कानुन आवश्यकः उपप्रम पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको आर्थिक विकासका लागि कानुन आवश्यक रहेको बताएका छन् ।

जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘समुदाय विकासमा स्थानीय निकाय एवम् सामाजिक संस्थाको भूमिका’ विषयक अन्तक्र्रियामा उनले मुलुकको विकासका लागि पुराना कानुनलाई संशोधन गर्दै सरकार अगाडि बढ्न लागेको बताएका हुन् । “विकासको सवालमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ,”– उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक लडाईँको आधार पुरा हुँदै गएको भन्दै अब विकास, निर्माण र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको उल्लेख गरे । सरकार जनताको आवश्यकता पुरा गर्न लागेको उनको भनाई थियो ।

उनले जनकल्याण सेवा केन्द्रले समाज सेवामा स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य गरेर राम्रो काम गरेको बताउँदै एनजीओ र आइएनजीओले समाजसेवाको नाममा खेतीपाती गरेको आरोप समेत लगाए ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुद्दामा परी अभियोग लागेकालाई सरकारले छुट नदिने भन्दै सार्वजनिक सम्पत्ति रक्षाका लागि जनता चट्टान भएर उभिनुपर्ने बेला आएको बताए । उनले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि निरन्तर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समुदायमा भएको विकृति, विसंगति अन्त्यका लागि समुदायका साथमा प्रहरी सँगसँगै अगाडि बढ्ने बताए । “विकृति, विसंगति र भ्रष्टाचारको अन्त्यका लागि लाग्नुहोस्, प्रहरी तपाईँको साथमा छ,”–उनले भने ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको विकासमा जनप्रतिनिधिका साथै स्थानीय जनताको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताए ।

केन्द्रका अध्यक्ष विकासकुमार दासले टोखा क्षेत्रको विकास र विस्तारका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा पनि सामाजिक सेवालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

सोही अवसरमा सामाजिक केन्द्रलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पनि गरिएको थियो ।