साहित्य

‘आधा आकाश’ बजारमा

काठमाडौँ । सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ ।

चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुग्नुभएका लेखक अधिकारीले लेख्नुभएको २२३ पृष्ठ लामो उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवायुवतीको भोगाइ र प्रेमकथा समेटिएको छ ।

सोसाइटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा डा तुलसी भट्टराई, वरिष्ठ साहित्यकार डा बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यकार वियोगी बुढाथोकी, पत्रकार नकुल अर्याल लगायतले उपन्यासको संयुक्त विमोचन गरेका थिए ।

प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार डा तुलसी भट्टराईले उपन्यासको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताउँदै विदेश जाने युवायुवतीको कथा समेटिएको उक्त कृति लेखनमा दार्शनिक प्रयोग पनि गरिएको बताए । उनले भने–“युवा पुस्ताले आधा आकाश पढ्नैपर्छ, अरुले छुटाउनुहुन्न ।”

साहित्यकार डा बेञ्जु शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने बताउँदै उपन्यास क्षेत्रमा ‘आधा आकाश’ सशक्त कृतिको रुपमा रहेको बताए । कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ तथा पुराना सबै खाले पाठकलाई न्याय गर्ने र युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने बताए ।

साहित्यकार वियोगी बुढाथोकीले ‘आधा आकाश’ का लेखकबाट यस्तै सशक्त कृतिको अपेक्षा गरेको भन्दै पाठकका लागि उत्कृष्ट उपन्यास बजारमा प्रवेश गरेको बताए ।

सोसाइटी मिडियाका अध्यक्ष नकुल अर्यालले कृतिले सञ्चारकर्मीका रुपमा रहेका लेखकको परिचय मात्रै नभइ उपन्यासको चालु बजारको गति पनि बदल्ने बताए ।