देश

महानगरमा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं १८ ले जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र निर्माण गरेको छ । कामपा वडा नं १८ ले आज यहाँ सो मनोरञ्जन केन्द्र उद्घाटन कार्यक्रमको आयोजना गरेर उक्त सेवा शुरु गरेको हो ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले लामो समय जनप्रतिनिधिविहीनताको अवस्थाले सिर्जना भएको अभाव पूरा गर्न समय लाग्ने भन्दै कामलाई प्राथमिकतामा राखेर आफूहरु नागरिकको समस्या समाधान गर्नेतिर लागिरहेको बताए ।

काठमाडौँ क्षेत्र नं ७ का संघीय संसद् सदस्य रामवीर मानन्धरले, जेष्ठ नागरिक सम्मान, विगतमा भएको राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि भएको भन्दै अहिले नागरिकले स्थानीय सरकारको उपस्थिति महसुस गर्न थालेको बताए ।

वडामा भएका ६० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई लक्षित गरी जेष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना गरिएको हो ।

सेवा केन्द्रमा अहिले हार्मोनियम, तबला, पछिमा, बाँसुरी, मादलजस्ता वाद्ययन्त्र राखिएका छन् । यस कामका लागि वडाले रु दुई लाख खर्च गरिसकेको छ । वडामा ६० वर्ष उमेर पूरा भएका करीब ७०० जना नागरिक हुनुहुन्छ । यीमध्ये करीब ६०० जनालाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गरिसकिएको र करीब १०० जनालाई कार्ड प्रदान गर्न बाँकी भएको वडाले जनाएको छ ।