राजनीति

सभामुख र उपसभामुखको निकासबारे यसो भन्छन् नेता पौडेल

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानबाटै निकास खोजिने बताएका छन् ।

राजधानीमा आज आयोजित साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज उठिरहेकाले यस विषयमा कानूनविद्सँग छलफल गर्ने स्पष्ट पारे ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आकस्मिकरुपमा पार्टी एकता भएकाले एकीकृत पार्टी बनिसकेपछि अब नयाँ ढंगले अघि बढ्ने उनको भनाइ छ ।

उनले भने, “सभामुख र उपसभामुखको निर्वाचन हामी दुई पार्टीबीच एकता हुनुपूर्व नै भएको हो, त्यतिखेर छुट्टाछुट्टै पार्टी भएकाले संविधानको मर्मअनुसार नै हामी अघि बढेका थियौँ, अब नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्छौँ, यसका लागि सबै पक्षसँग छलफल गरेर उचित निकास निकाल्नेछौँ ।”

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकाले दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने माग राखे ।

उनले भने, “एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लङ्घन हो, त्यसैले तत्काल एकजनाले राजीनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।”

राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले आफूहरुले संसदीय व्यवस्थामा विश्वास गर्ने भएकाले प्रचण्डले आफ्नो विचार राख्दैमा कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जान नसकिने बताए ।

उहाँले इजरायलको जस्तो प्रत्यक्ष निर्वाचित तानाशाही भोग्ने पक्षमा नरहेको पनि बताए । उनले भने, “प्रतिनिधिसभा सञ्चालन नियमावली दलबीचको सहमतिमै पारित भएको हो, नेपालका नेताहरु एकछिन झगडा गर्छन् र अन्तिममा मिल्ने गर्छन् यो नै हाम्रो विशेषता हो ।”