देश

सौराहामा हात्तीपार्क निर्माण गरिने

चितवन । जंगल सफारीसँगै हात्तीबाट मनोरञ्जन लिनका लागि सौराहामा हात्तीपार्क बनाइने भएको छ ।

हात्ती चढेर निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्नुका साथै नदीमा नुहाउन र खेल्न हात्तीलाई प्रयोग गरिँदै आएको छ । यससँगै ज्येष्ठ उमेर भएका र सफारीमा जान नसक्ने हात्तीलाई प्रयोग गरेर हात्तीपार्क निर्माण गर्न लागिएको हो ।

युनाइटेड इलाफेन्ट कोअपरेटिभ सौराहाका अध्यक्ष दीपक भट्टराईले अमेरिकाको वल्र्ड एनिमल प्रोटेक्सन सेन्टरसँग सहकार्य गरी हात्तीपार्क बनाउने तयारी गरिएको बताए । सौराहा क्षेत्रमा एकै ठाउँमा ६० बिगाह हाराहारीको जग्गा खरिद गरेर वा भाडामा लिएर हात्तीपार्क निर्माण गर्ने तयारी गरिएको उनले बताए ।

हाल सो सहकारी अन्तर्गत ५७ वटा हात्ती रहेका छन् भने सहकारीमा नभएका अन्य चार हात्ती पनि निजी क्षेत्रबाट सञ्चालनमा रहेका छन् । अमेरिकाको सो संस्थाले सबै लगानी आफ्नै तर्फबाट गर्न, व्यवसायीलाई ऋण दिएर सहयोग गर्न र आधा÷आधा लगानीमा पार्क सञ्चालन गर्ने गरी तीन विकल्प दिएको अध्यक्ष भट्टराईले बताए ।

उनका अनुसार ती तीन विकल्पमध्ये एउटा विकल्पमा पार्क निर्माणका लागि गृहकार्य भइरहेको छ । पार्क निर्माणसँगै हात्ती साङ्लामुक्त हुनेछन् । सो पार्कमा पर्यटकले हात्तीका गतिविधि हेर्नसक्ने छन् ।

जसका कारण पर्यटकका लागि नयाँ र थप गन्तव्य बन्नसक्ने उहाँको भनाई छ । हात्ती खरिद गर्दा रु ८० लाखको हाराहारी पर्ने गर्दछ । हात्तीको आयु एक सय वर्षको हुनेगर्दछ । ५० वर्षपछि ती हात्तीलाई पार्कमा राखेर पर्यटकको विशेष गन्तव्य बनाउने योजना रहेको क्षेत्रीय होटल संघ चितवन सौराहाका वरिष्ठ उपाध्यक्ष समेतरहनु भएका अध्यक्ष भट्टराईले बताए ।

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भविष्यमा हात्तीको अभावमा जंगल सफारी बन्द हुने अवस्था भएमा पर्यटकलाई विकल्पको गन्तव्यका रुपमा पार्क बनाउन सकिने बताए ।

उनका अनुसार हाल महँगो मूल्यमा हात्ती खरिद गर्नुपर्ने बाध्यता छ । एउटा हात्तीलाई गर्भधारणका लागि २२ महिना कुर्नु पर्नेहुन्छ । अहिले भएका हात्ती बूढो हुँदै जाँदा सफारीका लागि धेरै हात्ती पाउन मुस्किल पर्नसक्ने भन्दै समयमा नै पार्क निर्माण गरी भविष्यमा हात्तीसँग खेल्न र आनिबानी हेर्न रुचाउने पर्यटकका लागि विकल्पको खोजीका रुपमा पार्क बनाउन लागिएको अध्यक्ष घिमिरेले बताए ।

नेपालमा भारतीय क्षेत्रबाट हात्ती खरिद गरी ल्याउने गरिन्छ । निजीसंँगै यहाँको चितवन राष्ट्रिय निकुञ्जमा हाल ५७ वटा सरकारी हात्ती छन् । विगत लामो समययता निकुञ्जको आफ्नै प्रजनन केन्द्रमा हुर्काइएका हात्तीले निकुञ्जलाई हात्ती पूर्ति गर्दैआएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार केही वर्ष पहिला भारतलाई चार गैँंडा उपहार दिँदा १६ हात्ती भारतले नेपाललाई दिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाह हुँदा थाइल्याण्डले पनि एउटा हात्ती नेपाललाई उपहार दिएको थियो । ठूलो वन्यजन्तु र मानिससँग घुलमिल गराउन सकिने भएकाले मानवजाति हात्तीसँग रमाउने गर्दछन् ।