सूचना प्रविधि

सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै

बैतडी । सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् ।पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् ।

मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृृत गणेश शाहीले जानकारी दिए ।

सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले बैतडीका किशोर किशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ । यसले गर्दा बालविवाह न्यूनीकरण गर्नसमेत चुनौती थपिएको कार्यक्रम अधिकृृत शाहीको भनाइ छ ।

मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने–“इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह र महिलाहिंसा मात्रै नभएर मानव बेचबिखन जस्ता जघन्य अपराधमा समेत वृद्धि भएको छ ।”

सञ्चारको पहुँचमा सबै पुग्नु खुसीको कुरा हो, सञ्चारले एक ठाउँको खबर अर्को ठाउँमा कम समयमा सुन्न सकिन्छ, देश विदेश कुन ठाउँमा के भएको छ भन्ने हेर्नपनि सकिन्छ तर बैतडीका किशोरकिशोरी भने सञ्चारको दुरुपयोग गर्दै भागेर विहे गर्ने साधन बनाएका छन् ।

फेसबुक, फोनमा कुरा गर्दै मायामा परेर उमेर नपुग्दै भागेर जाने चलन यहाँ पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा समाजमा सञ्चार माध्यमको दुरुपयोग भएको बालबालिकाका क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।

“बालविवाहका कारण धेरैजसो महिला हिंसामा परेका छन्, उनीहरु मोबाइलकै दुरुपयोगका कारण बालविवाह गर्न बाध्य भएका छन्,” महिला विकास निरीक्षक विष्ना भण्डारीले बताए ।

बालबालिकाको उमेर नपुग्दै मागेर बिहे गर्ने चलन पनि बैतडीमा धेरै छ । कोरोदान ग¥यो भने आफू मरेपछि राम्रो हुन्छ भन्ने गलत मान्यताले जरो गाडेको समाजमा स्वयम् आफै किशोरकिशोरी भाग्ने चलन बढ्दा झनै समस्या भएको छ ।

पछिल्लो समयमा सात, आठ कक्षामा पढ्ने विद्यार्थीको हातहातमा मोबाइल देखिन्छ । बालविवाह न्यूनीकरणमा साँच्चै लाग्ने हो भने १२ कक्षासम्म किशोरकिशोरीलाई मोबाइल बोक्न नदिने कानून बनाउन आवश्यक छ ।

सञ्चार प्रविधिको दुरुपयोगले विभिन्न समस्या निम्तिन थालेपछि स्थानीय तहले विद्यालयमा मोबाइल फोनमासमेत प्रतिबन्ध लगाउन थालेका छन् । दोगडाकेदार गाउँपालिकाले सूचना नै जारी गरेर विद्यालयमा मोबाइल बोक्न प्रतिबन्ध लगाएको सो गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

उनले भने–“मोबाइलको दुरुपयोगका कारण धेरै समस्या निम्तिएकाले विद्यालयमा मोबाइल प्रतिबन्ध लगाइएका हौं”

सञ्चार साधनका गलत प्रयोग गर्दा यस्ता समस्या समाजमा आउने गरेका छन् । मोबाइल इन्टरनेटलाई सही सदुपयोग गर्न जाने सम्पूर्ण संसारलाई कोठाभित्रबाट हेर्न सकिन्छ ।