देश

उपभोक्ता सचेत हुँदा वन डढेलोका घटना न्यून

कञ्चनपुर । वनका उपभोक्ता सजग हुँदा कञ्चनपुरमा वन डढेलोका घटनामा निकै कमी आएको छ । झाडी सफाइ, अग्निरेखा सुधार, स्याउला सफाइमा ध्यान दिँदा डढेलोका घटनामा कमी आएको हो ।

जिल्ला वन कार्यालय कञ्चनपुरका फेरस्ट फायर मनिटरिङ युनिटका प्रमुख विश्वेश्वर जोशीका अनुसार यस वर्षको हालसम्म चुरे क्षेत्रमा १० हेक्टर, लालझाडी वनमा ४० हेक्टर र अन्य सामुदायिक वनमा ३५ हेक्टर गरी ८५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जुन गत वर्षको तुलनामा निकै कम रहेको उनले बताए ।

“डढेलोका लागि अनुकूल मौसम भए पनि सामुदायिक वनका उपभोक्ताले नियन्त्रित अग्नि नियन्त्रण रेखा बनाइ र कन्ट्रो बर्निङको सहायताले वनलाई जोगाएका छन्” उनले भने। आव २०७३/७४ मा एक हजार १५२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । आब २०७२/७३ मा एक हजार दुई सय हेक्टर वनमा डढेलो लागेको थियो ।

वन क्षेत्रमा सुकेका घाँस, झारपात, झरेका पात पतिगङ्र, स्याउला, सोत्तर र ढलेपढेका रुख तथा हाँगाबिगा र अन्य धेरै प्रकारका ज्ज्वलनशील बस्तु वनमा रहने र यी वस्तु गर्मीयाममा तापक्रम वृद्धिसँगै आगोबाट जल्नका लागि ज्यादै खतरा अवस्थामा रहने भएकाले डढेलोको सम्भावना प्रवल हुने पिपलाडी रेन्जपोष्टका प्रमुख करुणकरण जोशीले बताए ।

“वनको बनोट र प्रजातिको मिश्रण अनुसार तराईका पतझर वनमा चैतदेखि जेठसम्म चरमरुपले वन डढेलोको समस्या रहेको पाइन्छ” उनले भने–“वन डढेलोबाट जैविक विविधता, कीटपतङ्ग, स–साना जीवजन्तु, काठ, दाउरा, बोटबिरुवालगायत मानवीय क्षति समेत हुने गर्छ ।

जलवायु, परिवर्तन, तापक्रम वृद्धि तथा वन फँडानी र वन व्यवस्थापन अभ्यासको कमीले गर्दा हालका वर्षमा वन विनाश तीब्र बन्दै गइरहेको सेक्टर वन कार्यालय वाणिका प्रमुख विश्वराज पण्डितले बताए ।