स्वास्थ्य

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

वाग्मती सफाइ महाभियानको २६५ औँ हप्तामा बानेश्वर क्याम्पसअघिको नदी क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत संस्थाका गरी ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले राससलाई जानकारी दिए ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । आजको सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक एवं सफाइ अभियन्ता विज्ञानराज शर्माको २५ औँ वैवाहिक उत्सवका अवसरमा नदी किनारमा अम्बा, समी, बोझो, विभिन्न जातका फूल गरी २५ वटै वृक्षरोपण गरियो ।

सफाइका क्रममा जन्मदिन र वैवाहिक उत्सव पर्ने अभियन्ताको उत्सव यसरी मनाउन शुरु गरिएको अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य खरेलले बताए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२६ औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल क्षेत्रको नदी किनारमा सफाइ गरे । सफाइमा वडा कार्यालयले विशेष सक्रियता देखाएको थियो ।

सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गर्ने गरी नदी किनारमा थुपारियो । कुहिने फोहर खाडल खनेर पुरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत र आयोजना प्रमुख आशिष घिमिरे, गोकर्णेश्वर नगरपालिका–१ का अध्यक्ष राम मानन्धरसहितको समूहसमेत सहभागी भएका थिए । वडाध्यक्ष मानन्धरले पर्यटकीय क्षेत्र सुन्दरीजललाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न लागिएको सो अवसरमा जानकारी दिए ।

सो अवसरमा मुहानबाट नै नदी सफा गर्ने अभियानमा सक्रिय रहने अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष बस्नेतले प्रतिबद्धता दोहो¥याए । वडाध्यक्ष मानन्धरले वाग्मतीको मुहान सफाइ गर्न सहयोग गर्ने बताए । आगामी शनिबार २२७ औँ हप्ताको सफाइ पनि वाग्मतीको मुहान क्षेत्र सुन्दरीजलमै गरिने अभियन्ता पुडासैनीले बताए ।

सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, पुडासैनीमैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटीलगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो ।

रुद्रमती सफाइको २२० औँ हप्तामा रातोपुल–सेतोपुलसम्मको किनारमा रोपिएका बिरुवाको गोडमेल र संरक्षण गरियो । सो अवसरमा जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, केही विद्यालयलगायतको संस्थागत सहभागितासहित २०० भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

विष्णुमती सफाइ अभियानको १९२ औँ हप्तामा टोखा र तारकेश्वर नगरपालिका जोड्ने पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो । सफाइमा तारकेश्वर नगरपालिका–१० का अध्यक्ष अमृत थापा, गायिका रेखा शाहलगायत ४०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको थियो ।

दुवै नगरपालिका, नेपाली सेना, विभिन्न विद्यालयका विद्यार्थी सहभागी भएको सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बिजेन लामाले जानकारी दिए ।

मनोहरा नदी सफाइको ६३ औँ हप्तामा आज पनि काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटी तरकारी बजार क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले राससलाई जानकारी दिए । सफाइमा १०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । तरकारी बजार क्षेत्रमा फोहर भएकाले लगातार तीन हप्ता सफाइ गरिएको उनले बताए ।

चक्रपथ सफाइको ६१ औँ हप्तामा गोंगबुचोकबाट ग्रीनसिटी अस्पतालसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्शलगायत संस्थाका गरी ३५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । आजको सफाइबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आठ मेट्रिक टन फोहर महानगरपालिकाको गाडी अभावका कारण सडकमै थुप्रिएको छ ।

सफाइसँगै चक्रपथको सडक मिचेर बनाइएका अस्थायी संरचना हटाइयो । सफाइमा गायक प्रकाश कटुवाल, हाँस्यशृंखला भद्रगोल समूहका कलाकारको पनि सक्रियता थियो । गोंगबुको सडक क्षेत्रमा मासु काटेर बेची फोहर गर्नेलाई काठमाडौँ महानगरपालिकाका प्रहरीले पक्राउ गरेको थियो ।

वाग्मतीको तिलगंगा क्षेत्र सफाइ अभियानको १६७ औँ हप्तामा तिलगंगा आँखा अस्पताल अघिको नदी किनारमा गरे । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगर सफाइको ६१ औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिए । नुसफाइबाट एक मेट्रिक टन फोहर उठाइयो ।

चक्रपथ बाफलखण्ड सफाइको ४३ औँ हप्तामा सीतापाइलाचोकबाट स्युचाटारचोक क्षेत्रसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्व सांसद एवं कानून व्यवसायी खिमलाल देवकोटा, नेप्लीज् फेसन होमले आयोजना गरेको मिस नेवाः प्रतियोगिताको २० जना प्रतियोगीसहित स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाभियानबाट प्रभावित भई हालसम्म देशका ९४ स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ ।
फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाभियानले जनाएको छ ।

पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्षसमेत घोषणा गरेको छ ।

वाग्मती सफाइ महाभियानले २०० वर्ष प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणापत्र नै जारी गरेको थियो ।