पु.समाचार

नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन नसकेको गुनासो

तुलसीपुर, दाङ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मानव अधिकारको संरक्षण, सम्बद्र्धन गर्न आयोग सधैँ लागिरहने बताएका छन् ।

दाङका सरकारी कार्यालय प्रमुख, नागरिक समाज, पत्रकार तथा मानवाधिकारवादी र संघसंस्थाका प्रतिनिधिसँग शुक्रबार छलफल गर्दै उनले समाजमा न्याय स्थापित भए मात्र नागरिकले मानवाधिकार पाउने जानकारी दिए ।

सो अवसरमा उपस्थित सरोकार भएका निकायका प्रतिनिधिले जिल्लामा जनप्रतिनिधि आए पनि नागरिकले अपेक्षा गरेअनुसारको सेवा पाउन नसकेको गुनासो गरेका थिए । उनीहरुले जिल्लाको सरकारी स्वास्थ्य संस्थाले दिने सेवाको अवस्था निकै कमजोर रहेको र अहिले पनि नागरिकले प्रभावकारी स्वास्थ्य सेवा लिन नसकेको बताएका थिए । त्यसैगरी सरकारी विद्यालयमा दरबन्दी मिलानका क्रममा देखिएको विवाद, जिल्लामा भइरहेको नदीजन्य सामग्रीको उत्खनन, सिमेन्ट उद्योगले वातारणमा गराएको प्रदूषण, पानीका मुहानको अवस्थालगायत बारेमा आयोगसमक्ष गुनासो गरिएको थियो ।