पर्यटन/संस्कृति

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा रु ६४ लाख खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट रु १४ लाख ४० हजार खर्च भएको बताए ।
कर्णाली प्रदेशसभा कालीकोटको नरहरि गाउँपालिका– ९का मना सार्कीको हत्याका विषयमा केन्द्रित भयो । सार्की हत्यामा संलग्न दोषी कानूनी दायरामा आए पनि तिनीहरुलाई हदैसम्मको कारवाही गर्नेबारे १० सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए । जनप्रतिनिधिजस्तो व्यक्तिमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको बताउँदै उनीहरुले घटना छानवीनका लागि समिति गठन गर्न, सार्कीलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे ।
विषयगत समितिमा पठाउन तीन विधेयक पारित
प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सभामा पेश गरेका थिए। मन्त्री भण्डारीले उक्त पेश गरिएको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाउन सभामा प्रस्ताव गरेसँगै सो विधेयक सर्वसम्मत पारित भएको छ ।
त्यस्तै स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि सर्वसम्मत पारित भएर सम्बन्धित विषयगत समितिमा निर्णयार्थ पेश भएको छ ।
त्यसैगरी सामाजिक विकासमन्त्री दल रावलले पेश गर्नु भएको सामाजिक संघ संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक, २०७५ सामाजिक विकास समितिमा पठाउन गरिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ । संसदको एघारौं बैठक शनिबार अपराह्न १ः०० बजे बस्दैछ ।