खेलकुद

नुवाकोट गोल्डकपः उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस भिड्ने

त्रिशूली, नुवाकोट । यहाँ जारी ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् ।

बट्टार क्याम्पस खेल मैदानमा आज आयोजित पत्रकार सम्मेनलमा फाइनलमा पुगेका दुवै टोलीले आफूलाई उपाधिको दावदारका रुपमा सोचेर खेल रणनीति तयार पारिरहेको बताए । उपाधि जित्नका लागि टोलीले नीतिभित्र रहेर पर्याप्त खेल कौशल प्रयोग गर्दैै खेल्ने नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताए । “फाइनल गेम जित्ने सम्भावना ५०/५० प्रतिशत हो”, थापाले भने, “थ्रीस्टार पनि कमजोर टिम होइन, हामी पनि कम छैनौंँ ।”

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जसले बढी मेहनत गर्न सक्छ उपाधि उसैले जित्ने बताए । “फाइनलमा दुवै टिमको ५०/५० प्रतिशत नै सम्भावना हो । मैदानमा जसले बढी अवसर सिर्जना गर्न सक्छ, उसैले उपाधि उचाल्छ”, केसीले भने ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बुद्धि प्रधानले पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले व्यवस्थापनमा धेरै कमजोरी रहे पनि आगामी दिनमा सुधारिने बताए ।

शनिबार हुने फाइनलमा उपाधि जित्नेले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन् । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।