गण्डकी प्रदेश

प्रदेश ४ः लगानीमैत्री वातावरण सिर्जना गरिने

पोखरा । प्रदेश नं ४ को प्रदेशसभा बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा लोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट प्रदेशमा सुशासन, विकास र समृद्धि ल्याइने जनाइएको छ ।
बैठकमा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको विकास र समृद्धि हासिल गर्न नागरिक अधिकार, सबैलाई समान अवसर र मजबुत सुरक्षा नीति अपनाइने बताए ।

प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गरिने तथा पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक इञ्जिनका रुपमा विकास गरिने उल्लेख छ । ऊर्जा विकास, कृषि पशुपालन, फलफूल खेती र सिँचाइ, औद्योगिकीकरण, वन तथा वातावरण, स्तरीय भौतिक पूर्वाधार प्रदेश विकासको आधारका रुपमा रहनेछन् ।