साहित्य

राजधानीमा ‘झल्को’ विमोचित

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मानवजीवनसँग जोडिएका प्रेम, वेदना, स्वतन्त्रता तथा विद्रोहको प्रस्फुटनको माध्यम गीत हुने बताएका छन् ।

बझाङका नवोदित गीतकार कृष्ण विकको ‘झल्को’ नामक गीतिसंग्रहको आज विमोचन गर्दै पूर्वउपप्रधानमन्त्री निधिले थपे, “गीतमा राष्ट्रियता, शान्ति, क्रान्ति तथा समृद्धिजस्ता समाजलाई दिइने उत्प्रेरणा लुकेको हुन्छ ।” उनले प्रजातन्त्रमा मात्र जनताको अपेक्षा गीतबाट प्रस्फुटन हुने अवसर प्राप्त हुने बताए।

काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिम गीतसंगीतको उद्गमथलो हो भने । कलाकार नीर शाहले सुदूरपश्चिम संगीत, नाट्य बग्ने धरोहर हो भन्दै देशका कुनाकाप्चामा रहेका विकजस्ता लाखौँ प्रतिभावान् युवालाई सांगीतिक प्रस्फुटन गर्ने अवसर दिनुपर्ने बताए ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र उपाध्यक्ष पुष्पकुमार शाही, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, गायक नन्दकृष्ण जोशीलगायतले विकको सांगीतिक क्षेत्रमा प्रवेश र संगीतबाट राजनीतिमा भएको परिवर्तनमाथि प्रकाश पारेका थिए । सुदूरपश्चिमको बझाङ जिल्लामा दलित परिवारमा जन्मेर हुर्केका विकको उक्त एल्बममा पाँच गीत छन् । तिनमा संगीत बिबी अनुरागी, हेमन्त शिशिर तथा राजेन्द्र भट्टका छन् ।